काठमाडौँ ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रालाई प्रविधिसँग जोड्दै काठमाडौं महानगरपालिकाले नयाँ अभ्यास शुरू गरेको छ । अब जात्राका हरेक गतिविधि र रथयात्राको सम्पूर्ण जानकारी सर्वसाधारणले आफ्नै स्मार्टफोनबाट सहजै पाउन सक्नेछन् ।
यसका लागि महानगरले गल्ली म्यापसँग सहकार्य गरेको छ । काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार अब जात्रा हेर्न जाने दर्शकले रथ कुन ठाउँमा आइपुग्यो वा कुन नाच कहाँ भइरहेको छ भनेर सडकमै कुरिरहनु पर्ने छैन । मोबाइल एपमार्फत नै श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ कुन स्थानमा छ भन्ने जानकारी पाउन सकिनेछ ।
जात्राका क्रममा उपत्यकाका विभिन्न ठाउँमा ३१ वटा परम्परागत गुठी तथा अन्य सांस्कृतिक समूहले एकैपटक विविध प्रस्तुति दिने गर्छन् । अब लाखे नाच, पुलुकिसी, श्वेतभैरव र दश अवतार जस्ता विशेष आकर्षण कुन समयमा र कुन चोकमा प्रदर्शन भइरहेका छन् भन्ने विवरण गल्ली म्यापले प्रत्यक्ष देखाउनेछ ।
यस वर्षको एपमा अझै उपयोगी फिचर थपिएका छन् । जात्राको भिडभाडमा कुन सडक बन्द छ, कता जाम छ र वैकल्पिक बाटो कुन प्रयोग गर्ने भन्ने पूर्ण ट्राफिक अपडेट एपबाटै पाइने कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् ।
यति मात्र होइन, जात्रा अवलोकनकर्ताको सुविधालाई मध्यनजर गर्दै पिउने पानी पाइने ठाउँ र सार्वजनिक शौचालयको लोकेसनसमेत एपको नक्सामा राखिएको छ ।
समय अभाव हुने दर्शकलाई पनि अब एप हेरेर आफ्नो रोजाइको सांस्कृतिक झाँकी भएकै ठाउँमा सीधै पुग्न निकै सहज हुने महानगरको अपेक्षा छ ।
