रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ

काभ्रेको एक रिसोर्टबाट प्रहरीले ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिक रहेका छन्।
पनौतीस्थित बल्थली माउन्टेन रिसोर्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रिसोर्ट नै भाडामा लिएर बसेको खुलेको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको कारण भने खुलाएको छैन।
उनीहरूको गतिविधि र नेपाल बसाइको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
यसअघि मंगलबार पनि काभ्रेकै अर्को रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरू बसेको रिसोर्टबाट प्रहरीले ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोनसमेत बरामद गरेको थियो। उनीहरू अनलाइन ठगीमा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
लगातार दुई दिन काभ्रेका विभिन्न रिसोर्टबाट विदेशी नागरिक पक्राउ परेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि निगरानी र अनुसन्धान तीव्र बनाएको छ।
यद्यपि, बल्थली माउन्टेन रिसोर्टबाट पक्राउ परेका ४० जना विदेशी नागरिक कुनै गैरकानुनी गतिविधिमा संलग्न रहेको अहिलेसम्म पुष्टि नभएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *