एआई र वित्तीय नवप्रवर्तनमा प्रवेशले पाए अन्तर्राष्ट्रिय अवार्ड

अमेरिकाको ‘क्रस रिभर’ बैंकमा कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृतका रूपमा कार्यरत प्रवेश रिजाललाई प्रतिष्ठित ‘भिजन अवार्ड २०२६’ प्रदान गरिएको छ । न्युयोर्कमा १३ नोभेम्बरमा आयोजित ‘द सीआईओ रुम न्युयोर्क २०२६’ कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
प्रवेशले क्रस रिभर बैँकको डेटा प्लाटफर्म, आर्टिफिसियल इन्टेलिजेन्स, विश्वव्यापी बैंकिङ र अनचेन फाइनान्स रणनीतिको नेतृत्व गरिरहेका छन् । यसअघि उनले क्रस रिभरकै क्वान्टिटेटिभ स्ट्राटेजीज विभागको नेतृत्व गरेका थिए । प्रविधि र एआईको क्षेत्रमा नवप्रवर्तन र व्यावसायिक प्रभाव पारेको भन्दै उनलाई यो अवार्ड दिइएको आयोजक एआईएम मिडिया हाउसले जनाएको छ ।
विशेषगरी वित्तीय सेवामा एजेन्टिक एआईको प्रयोग र प्रणाली आधुनिकीकरणमा उनको योगदानको उच्च कदर गरिएको छ । क्रस रिभरले पनि सामाजिक सञ्जालमार्फत प्रवेशलाई बधाई दिँदै उनले उन्नत वित्तीय सेवा निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।
प्रवेशले यसअघि सिटीग्रुपको ग्लोबल मोडलिङ विभागमा वरिष्ठ उपाध्यक्षका रूपमा काम गरेका थिए । उनले वाल स्ट्रिटका अन्य ठूला वित्तीय संस्थामा पनि विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनले न्युयोर्क युनिभर्सिटीबाट फाइनान्सियल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । हाल उनी फ्रान्सको एडहेक बिजनेस स्कुलबाट फाइनान्समा विद्यावारिधि गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा उच्च पदमा पुगेका प्रवेशले गत भदौको भोटेकोशी(बाढीका पिडितलाई सहयोग जुटाउन विशेष पहल गरेका थिए । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रयोगमा प्रतिबन्ध रहेकाले विदेशबाट आउने क्रिप्टो सहयोग नेपाल पठाउन निमल्ने जटिलतालाई उनले क्रस रिभर बैँकमार्फत क्रिप्टोलाई फियाटमा बदल्न भूमिका खेलेका थिए ।
‘नेपालमा बाढी आएपछि क्रिप्टो समुदायका धेरै मानिसले सहयोग गर्न चाहेका थिए तर नेपालको कानुनले क्रिप्टो भित्र्याउन नदिने भएकाले हामीले क्रिप्टोलाई डलर र रुपैयाँमा रूपान्तरण गर्ने उपाय निकालेका हौं,’ उनले त्यो बेला कान्तिपुरसँग भनेका थिए, ‘यसमा सम्पूर्ण प्रक्रिया अमेरिकामै फर्स्योट गरी संकलित क्रिप्टोलाई डलरमा रूपान्तरण गरेर वैधानिक बैंकिङ प्रणालीमार्फत नेपाल पठाइन् ।’
यसमा क्रस रिभर बैँकसहित पोलिगन फाउन्डेसनका संस्थापक सन्दीप नैलवाल र ‘इन्गेज नेपाल’ ले सहकार्य गरेका थिए । प्रवेशकै पहलमा क्रस रिभर बैंकको २५ सदस्यीय टोलीले २४ घण्टाभित्रै ‘नेपाल रिलिफ डट ओआरजी’ नामक प्रणाली तयार पारेका थिए । त्यसपछि ‘अफ(र्‍याम्प’ मोडलले क्रिप्टो सम्पत्तिलाई नेपाल भित्रिन नदिई अमेरिकामा नै डलरमा रूपान्तरण गर्ने व्यवस्था मिलाइएको थियो ।
उक्त रूपान्तरित रकमलाई स्विफ्ट बैंकिङ प्रणालीमार्फत नेपाल सरकारको विपद् राहत कोषमा पठाइएको थियो । प्रवेशको यो नवीन प्रविधि र पहलका कारण विश्वभरका क्रिप्टो दाताले कानुनी रूपमै नेपालका बाढी पीडितलाई सहयोग जुटाउन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *