चीनमा पदक जित्ने खेलाडी सम्मानित

चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जजका तीनजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।
चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा सञ्चालन भएको हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र काश्य पदक जितेका खेलाडीलाई महानगरपालिकाले बिहीबार सम्मानित गरेको हो ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जबाट गएका तीनै जनाले पदक जित्न सफल भएका थिए ।प्रतियोगितामा वीरगन्जकी अवन्तिका झाले स्वर्ण पदक तथा सान्वी शर्मा र अवन्सिका गुप्ताले काश्य पदक जितेका थिए ।उक्त प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए ।
प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगन्जका तीनै जना खेलाडीले पदक जित्न सफल भएका हुन् । खेलाडीलाई सम्मान गर्दै वीरगन्ज महानगर मेयर राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगन्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे । खेलाडीको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीको मेहनत,लगनशीलता र प्रतिभाको प्रशंसा गरे ।
मेयर सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि वीरगंज महानगरपालिका सधैं सहयोग गर्न तयार रहेको पनि बताए। खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन महानगरले आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *