फाप्ला क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ।
रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास मन्त्री सुनील लाम्सालले जानकारी दिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल भइरहेका बेला मन्त्री लाम्सालले फाप्ला रंगशाला निर्माणको प्रक्रिया अघि बढेको घोषणा गरेका हुन्।
मन्त्री लाम्सालका अनुसार निर्माणको प्रारम्भिक चरणमा मैदानको हालको सतहमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने काम गरिनेछ। उनले आयोजनालाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अघि बढाइएको बताए।
मन्त्री लाम्सालले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्वको आयोजनाका रूपमा व्याख्या गरेका छन्।
रंगशाला निर्माणले सुदूरपश्चिममा खेलकुद पूर्वाधारको विकाससँगै क्रिकेटको व्यावसायिक विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
रंगशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने अपेक्षा गरिएको छ।
यसबाट खेल पर्यटन प्रवर्द्धन हुनुका साथै होटल, यातायात र अन्य व्यावसायिक गतिविधि बढ्ने तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुदूरपश्चिमको खेलकुद विकाससँग जोडिएको महत्त्वाकांक्षी आयोजना हो।
कैलालीको धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने अवधारणा लामो समयदेखि चर्चामा रहे पनि जग्गा व्यवस्थापन, पूर्वाधार विकास र स्रोत सुनिश्चितताजस्ता विषयले यसको निर्माण प्रक्रियाले अपेक्षित गति लिन सकेको थिएन।
फाप्लालाई क्रिकेट रंगशालाका रूपमा विकास गर्ने अभियानले राष्ट्रियस्तरमै चर्चा पाए पनि निर्माणको ठोस काम अघि बढ्न नसक्दा स्थानीय क्रिकेटप्रेमी र खेलाडीले निरन्तर प्रतीक्षा गर्नुपरेको थियो।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको र राष्ट्रिय टोलीले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरिरहेको अवस्थामा क्षेत्रीयस्तरमा पनि व्यवस्थित क्रिकेट पूर्वाधार निर्माणको आवश्यकता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *