जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि पाकिस्तानी ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरेको छ । जनकपुरले सामाजिक सञ्जालमार्फत अहमदले एनपीएल खेल्ने जानकारी दिएको हो ।
अहमद जनकपुरले भित्र्याएको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले हरमित सिंह र जिमी निशमसँग सम्झौता गरेको थियो ।
अनुभवी ब्याटर अहमदले टेस्ट क्रिकेट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय पाकिस्तानको प्रतिनिधित्व गरेका छन् ।
उनले ६६ टी–२० अन्तर्राष्ट्रियमा चार अर्धशतकसहित ९८९ रन बनाएका छन् । अहमद टोलीलाई आवश्यक परेमा बलिङबाट पनि योगदान गर्न सक्छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा आठ विकेट लिएका छन् ।
अहमदसँग पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र लंका प्रिमियर लिग (एलपीएल) खेलेको अनुभव छ ।
उनले दुईपटक पीएसएलको उपाधि जितेका छन् । उनी सन् २०१७ मा पेशावर जालिम र सन् २०१८ मा इस्लामाबाद युनाइटेडबाट च्याम्पियन बनेका थिए ।
