उत्तर बङ्गालका तीन जिल्लामा चिया प्रक्रियाकरण (बट लिफ फ्याक्ट्री) उद्योगमा 50 करोड़ रुपियाँ लगानी गरिनेछ। प्रधानमन्त्रीको माइक्रो फुड फर्मालाइजेशन परियोजनामा उत्तर बङ्गालका साना कृषकहरूले चिया प्रक्रियाकरण उद्योगमाथि चासो देखाइरहेका छन्। आइतवार जलपाइगढ़ीमा जिल्ला साना चिया कृषक सङ्घको कार्यालयमा तीन जिल्लाका कृषकहरूसित बैठक गरिएको राज्य र केन्द्रीय अधिकारीहरूले जानकारी दिए।
गत केही वर्षदेखि साना चियाबारीका मालिकहरूले काँचो चिया पत्तीको उचित मूल्य पाइरहेका छैनन् भन्ने गुनासो छ। यसकारण तिनीहरूलाई बट लिफ फ्याक्ट्रीमा कम मूल्यमा काँचो पत्ती बेच्नुपर्छ। यस्तो स्थितिमा साना चिया कृषकहरू मिलेर सङ्घ बनाएका छन्। सङ्घका अध्यक्ष रजत कार्जीअनुसार, जलपाइगढ़ीमा लगभग 25 हजार साना चिया कृषक छन्। अन्य जिल्लाहरूमा मिलाएर यो सङ्ख्या लगभग 50 हजार पुग्छ।
चिया कृषकहरूले मिलेर चिया प्रक्रिया उद्योगमा अघि बढ़े भने धेरै रोजगार सिर्जना हुनेछ। तयार चियाको माग पनि बढ्नेछ। कारण साना चियाबारीमा उत्पादन गरिएको काँचो पत्तीको गुणस्तर निकै उन्नत छ।” कन्फेडेरेशन अफ स्मल टी एसोसिएशन अफ इण्डियाका अध्यक्ष विजयगोपाल चक्रवर्तीले भने, यस परियोजनामा कूल खर्चको 40 प्रतिशत राज्यले दिनेछ। बाँकी 60 प्रतिशत केन्द्र सरकारले दिनेछ। यद्यपि चिया प्रक्रिया उद्योग निर्माण गर्न साना कृषकहरूले 30 प्रतिशत पैसा जम्मा गर्नु पर्नेछ। अहिले तीन जिल्लामा पाँचवटा युनिट बनाउने निर्णय भएको छ। शीघ्रै अन्य केही युनिट पनि बनाइने तिनले बताए।
यस परियोजनाका प्रमुख सन्दीप साहाले भने, साना कृषकहरू स्वनिर्भर समूह, समवाय वा किसान उत्पादक सङ्घ बनाएर पनि यसमा सहभागी हुन सक्छन्। धेरै साना चिया कृषकहरूले यसमा चासो देखाइरहेका छन्। उत्तर बङ्गालको खाद्य प्रक्रियाकरण कार्यालयका अधिकारी अरुणाभ बाउलले भने, आइतवारको कार्यशालामा साना चिया कृषकहरूलाई परियोजनाका लाभबारे विस्तृत जानकारी दिइएको थियो। धेरैजनाले चासो देखाए। जलपाइगढ़ीमा साना चिया कृषकहरूको सङ्ख्या सबैभन्दा बढ़ी भएकाले चिया प्रक्रिया परियोजना कार्यान्वयनमा कुनै समस्या हुने छैन। कृषकहरू अघि आए तिनीहरू आफै लाभमा रहने तिनको मत छ।