भारतको शृङ्गेरी शारदा पीठका ३७ औँ जगद्गुरु शङ्कराचार्य श्री श्री विधु शेखर भारती महास्वामी सनातन नेपाल आएका छन् ।
उनी काठमाडौँमा भइरहेको धार्मिक विजय यात्रा २०८३को लागि नेपाल आएका हुन् । प्रमुख चारमध्ये एक पीठ (कर्नाटकको श्रृंगेरी शारदा पीठ) को नेतृत्व गरिरहेका शङ्कराचार्य श्री भारती तीर्थ महास्वामीका उत्तराधिकारीका रूपमा मान्यता दिइएको भारतीको नेपाल भ्रमणलाई धार्मिक, सांस्कृतिक तथा कूटनीतिक दृष्टिकोणले महत्त्वपूर्ण मान्न सकिने धार्मिक अगुवाहरूले जनाएका छन् ।
२४ जुलाई १९९३ मा भारतको आन्ध्र प्रदेशको तिरुपतिमा जन्मिएका उनको दीक्षित हुनु अघिको नाम कुप्प वेङ्कटेश्वर प्रसाद शर्मा थियो । संस्कृत, कन्नड, तेलुगु, तमिल र हिन्दी भाषामा प्रखर वाचन गर्ने भारतीले कलिलै उमेरमा कृष्ण–यजुर्वेद र विभिन्न शास्त्रहरूमा महारथ हासिल गरेका थिए ।
उनले पशुपतिनाथ मन्दिर परिसर लगायतका क्षेत्रमा नित्य चन्द्रमौलीश्वर पूजा, विशेष अनुग्रह प्रवचन, वेद पाठशालाहरूको भ्रमण र भक्तजनहरूलाई आशिष् प्रदान गर्नेछन् । भारतको अद्वैत वेदान्त परम्परामा आदि शंकराचार्यद्वारा स्थापना गरिएका चार प्रमुख मठ हरूले वैदिक ज्ञानको संरक्षण र धार्मिक अभ्यासको मार्गदर्शनमा आज पनि केन्द्रीय आध्यात्मिक भूमिका निर्वाह गर्दै आएका छन् ।
यी मठहरू परम्परागत रूपमा चार वेदसँग सम्बन्धित छन् र भारतका चार दिशामा अवस्थित छन् । पूर्वमा ओडिशाको पुरीस्थित गोवर्धन मठ ऋग्वेदसँग सम्बन्धित छ र यसको नेतृत्व स्वामी निश्चलतानन्द सरस्वतीले गरिरहेका छन् । पश्चिममा गुजरातको द्वारका शारदा पीठ सामवेदसँग सम्बन्धित छ र यसको नेतृत्व स्वामी सदानन्द सरस्वतीले गरिरहेका छन् ।
नेपाल आएका भारतीलाई श्री भारती तीर्थ महास्वामीका उत्तराधिकारीका रूपमा मान्यता दिइएको छ । भारतका यी चारै मठहरू मिलेर शङ्कराचार्यको दार्शनिक विरासतको जीवित निरन्तरता प्रतिनिधित्व गर्छन् र भारतभरि अद्वैत वेदान्त परम्परालाई निरन्तरता दिइरहेका छन् ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
