वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कलाक्षेत्रम पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो । भारत उत्सवमा भारतका विभिन्न राज्यका ३५ सय भन्दा धेरै कलाकारहरूले भारत नाट्यम, कत्थक, लगायतका लोककला प्रस्तुत गरेका थिए । मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो । निर्णायक भूमिका निर्वाह गर्न पुणेमा उनलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो। यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउँदै उनलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार २०२५, विविधता मे एकता राष्टिय सम्मान २०२०, इन्डियन बेस्टिज अवार्ड –२०१९, पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो । त्यस्तै सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।सरोदवादन बाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित छन् ।
