सिलगढ़ीको हाकिमपाड़ाका 70 वर्षभन्दा माथिका सन्तोष कर्मकार प्रायः प्रत्येक महीना ब्लड सुगर जाँच गर्न हाकिमपाड़ाको एउटा डायग्नोस्टिक सेण्टरमा जान्छन्। तिनको ब्लड सुगर स्तर निकै बढ़ी हुनाले औषधीसितै इन्सुलिन पनि लिनुपर्छ। गत हप्ता तिनले उक्त डायग्नोस्टिक सेण्टरमा गएर रगत जाँच गराए। साँझमा रिपोर्ट हेर्दा तिनी छक्क परे। रिपोर्टमा ब्लड सुगर सामान्यभन्दा निकै कम्ती थियो। खुशीको सन्तोष बाबुलाई शङ्का लाग्यो। भोलिपल्ट तिनी सिधै हिलकार्ट रोडको अर्को डायग्नोस्टिक सेण्टरमा गए। त्यहाँको रिपोर्ट फेरि पहिलेको जस्तै थियो।
ब्लड सुगर कम्ती भएको रिपोर्ट सही नरहेको तिनले बुझे। शरीरमा सुगरको मात्रा धेरै हुँदा देखिने सबै लक्षणहरू तिनमा देखिएकाले रिपोर्टमाथि तिनलाई शङ्का लागेको थियो। सन्तोष बाबुको घटना एउटा उदाहरण मात्र हो। सिलगढ़ीमा यस्ता धेरैजसो रोगीहरू छन् जसको हातमा दुई-तीन किसिमका फरक रिपोर्ट आउँछन्। यसले गर्दा कुन रिपोर्ट सही हो भन्ने बुझ्न गाह्रो पर्छ। वास्तवमा शहरका अधिकांश ल्याबहरू एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेशन ल्याबोरेटोरी) द्वारा प्रमाणित नभएको कारण साधारण मानिसहरू समस्यामा परिरहेका छन्। सिलगढ़ीका डायग्नोस्टिक सेण्टरहरूबाट आउने रिपोर्ट फरक-फरक हुन्छन्। यसकारण औषधी दिन चिकित्सकहरू पनि द्विविधामा पर्छन्। यसकारण केही निश्चित डायग्नोस्टिक सेण्टरको रिपोर्टबाहेक अन्य ठाउँका रिपोर्ट चिकित्सकले हेर्नै चाहँदैनन्। तर अलग अलग रिपोर्ट किन दिन प्रतिदिन बढ़िरहेको छ भन्ने कुरा न त रोगीले बुझ्न सक्छन् न त तिनका आफन्तहरूले।
सिलगढ़ीमा विशेष गरी हाकिमपाड़ा र कलेजपाड़ा क्षेत्रमा 20-25 वटा डायग्नोस्टिक सेण्टर खोलिएको छ। आरोप छ, यी सेण्टरका रिपोर्टहरूमा कुनै मेलमिलाप हुँदैन। साथै प्रत्येक ठाउँमा रगत परीक्षणको शुल्क पनि फरक छ। उदाहरणका लागि, प्रधाननगरको एउटा सेण्टरमा लिभर फङ्क्शन टेस्टका लागि 800 रुपियाँ लाग्छ भने हाकिमपाड़ाको सेण्टरमा 500 रुपियाँ लाग्छ। चिकित्सकहरूअनुसार, सिलगढ़ीका धेरैजसो ल्याबहरूमा गुणस्तर नियन्त्रण छैन। केही मात्र एनएबीएल प्रमाणित ल्याबहरू छन्। यी ल्याबहरूमा गुणस्तर नियन्त्रण व्यवस्था हुन्छ। तर साना ल्याबहरूमा यस्तो हुँदैन। डा. शेखर चक्रवर्तीले भने, यहाँका धेरैजसो ल्याबहरूको गुणस्तर राम्रो छैन। एनएबीएल प्रमाणित ल्याबहरूमा मात्र गुणस्तर नियन्त्रण हुन्छ। डा. देवाशीष पालले भने, रोगीको लक्षणअनुसार परीक्षण गर्न लगाइन्छ। तर धेरैजसो अवस्थामा रिपोर्ट हेर्दा शङ्का लाग्छ, जसले गर्दा हामी रोगीलाई फेरि परीक्षण गर्न लगाउँछौँ।