बुद्धएयरले नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा–नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयरले जनाएको छ । पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो । सो उडान मङ्गलबारदेखि स्थगित भएको हो ।
नेपालगञ्ज–पोखरा सिधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन् । उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । पैँतिस मिनेटमै पोखरा पुग्न सकिने सिधा उडान स्थगनभएसँगै यात्रु फेरि लामो र सकसपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । बुद्ध एयरले १८ सिट क्षमताकाबीच क्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो ।
पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पोखरा आवतजावत गर्न सहज भएको थियो ।
