काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन विधिवत् रुपमा सुरू भएको छ। काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति गगन थापाले महाधिवेशनको उद्घाटनगरेसँगै विधिवतरुपमा शुरू भएको हो। सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन्। महाधिवेशनको उद्घाटनअघि कलाकारहरूले गीत प्रस्तुत गरेका थिए।
महाधिवेशनमा विभिन्न पार्टीका शीर्षनेताहरू उपस्थित छन्। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।
महाधिवेशनमा आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक,आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र सभापति थापाले प्रस्तुत गर्ने तयारी छ।
बन्दसत्रमा नीति,कार्यक्रम र समसामयिक प्रतिवेदनमाथि छलफल हुने भनिएको छ। उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ।
कांग्रेसले महाधिवेशनस्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै संयन्त्र परिचालन गरेको छ। सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति बनाइएको छ। ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ। प्रतिनिधि दर्ता असोज १७ बाट सुरू भएको हो भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
