प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्ने भएका छन् । उनले सगरमाथामा नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्। रास्वपाबाट प्रतिनिधि सभाका समानुपातिक सांसद शेर्पा सगरमाथा आरोहण गर्न बुधबार सगरमाथा बेसक्याम्प पुगिसकेका छन्। संसदको लोगो अंकित झण्डा लिएर सर्वोच्च शिखर सगरमाथामा बहालवाला सांसद पुग्ने पहिलो व्यक्ति शेर्पा बन्ने छन्। सन् २०२१ मा विश्वकै जोखिमपूर्ण मानिने केटु हिमालमा विन्टर सिजनमै १० नेपाली आरोहीको टोलीसहित पहिलो पटक सफल आरोहण गर्दै उनले इतिहास रचिसकेका छन् ।सगरमाथा र मनास्लु नौ–नौ पटक, केटु छ पटक तथा अन्य आठ हजार मिटरका हिमाल एक–एक पटक आरोहण गरेका उनले सबैभन्दा सानो उमेरमै विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान कायम गरेका छन् । साथै, ६१ दिनमै सगरमाथा र केटु आरोहण गरेर तथा सबैभन्दा छिटो केटु आरोहण (आधार शिविरदेखि चुचुरोसम्म १४ घण्टा २२ मिनेट) पूरा गर्दै उनले एकपछि अर्को विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
