नेपाल भ्रमणका रहेका अमेरिकाका सहायक विदेश मन्त्री समीर पल कपुरले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।
त्यस क्रममा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको बताए । उनले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे।
मन्त्री वाग्लेले अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेष गरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको बताए ।
यस्तै अमेरिकी मन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेकोसमेत बताए ।
सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमजस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए ।
