पहिलो तीन महिनामा १६ अर्बको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो १५ दिनको कार्यप्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार भारततर्फको निर्यात क्षमतामा थप वृद्धि भएको छ भने बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको निर्यात पनि सुचारु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसमध्ये असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरेको छ । असोज महिनामा गरिएको यो निर्यातबाट मात्रै प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालले भारतको बजारमा थप विद्युत् पठाउने अनुमति पाएको छ । मन्त्रालयका अनुसार भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त भएको छ । यो नयाँ स्वीकृति प्राप्त भएसँगै अब भारततर्फ विद्युत् निर्यातका लागि नेपालको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ ।
यसैबिच, केही समयअघि आएको बाढीका कारण अवरुद्ध भएको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि फेरि सुरु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुचारु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *