धुलिखेलमा बाथरोगसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु भएको छ ।
दुईदिनसम्म चल्ने गोष्ठीमा बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै यसको सही पहिचान र उपचारमा स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने उद्देश्य र्युमाटोलोजी सिम्पोजियम गोष्ठी आयोजना गरिएको छ ।
बुधबार आयोजित गोष्ठीमा नेपालसहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरूको सहभागिता छ । उनीहरूले बाथरोगका विभिन्न कारण, लक्षण, पहिचान तथा उपचारका विधिबारे अनुभव र ज्ञान आदानप्रदान गरेका छन् ।
धुलिखेल अस्पतालमा कार्यरत बाथरोग विभागका डा. विप्लव अधिकारीका अनुसार नेपालमा बाथरोगबारे बिरामी र स्वास्थ्यकर्मी दुवै तहमा पर्याप्त जनचेतना छैन । बाथरोग विशेषज्ञको समेत कमी हुँदा धेरै बिरामीले समयमै रोग पहिचान र उचित उपचार पाउन नसकेको उनले बताए ।
ुबाथरोग अझै पनि कम पहिचान भएको रोग हो । बिरामी मात्रै होइन, स्वास्थ्यकर्मीमा समेत यसबारे पर्याप्त जानकारी छैन । विशेषज्ञको कमीले गर्दा धेरै बिरामी सही निदान र उपचारबाट वञ्चित भइरहेका छन्,ु उनले भने ।
बाथरोगले हाडजोर्नीमा मात्रै असर गर्छ भन्ने आम बुझाइ गलत रहेको डा। अधिकारीको भनाइ छ । यसले हाडजोर्नीबाहेक शरीरका विभिन्न अंगमा समेत असर पार्न सक्ने र समयमै पहिचान तथा उपचार नभए जटिलता निम्त्याउन सक्ने उनले बताए ।
उनका अनुसार बाथरोगका विभिन्न स्वरूप, त्यसका लक्षण, निदान र उपचारबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनु गोष्ठीको मुख्य उद्देश्य हो । यसले बिरामीमा समेत रोगबारे सचेतना बढाउन र उपचार सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गोष्ठीलाई सम्बोधन गर्दै नेपाल र्युमाटोलोजी एसोसिएसनकी अध्यक्ष डा. दीपा शाहले नेपालमा बाथरोग (र्युमाटोलोजी) सम्बन्धी उपचार सेवा, अध्ययन तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाबीच सहकार्य अघि बढाउनुपर्नेमा जोड दिइएको बताइन् ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्यले नेपालका विभिन्न र्युमाटोलोजिस्ट तथा अन्य सरोकारवालासँग यसअघि पनि छलफल भएको र उनीहरूलाई एउटै मञ्चमा ल्याएर आगामी कार्ययोजनाका लागि साझा आधार तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कुनै पनि नयाँ पहललाई सफल बनाउन त्यसको नेतृत्व गर्ने व्यक्ति आवश्यक पर्ने उल्लेख गर्दै अस्पतालमै कार्यरत तथा संस्थाका पूर्वविद्यार्थीसमेत रहेका कन्सल्टेन्ट डा। विप्लवले र्युमाटोलोजी सेवाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।
उनका अनुसार बाथरोगको उपचार एउटै विधा वा विशेषज्ञताबाट मात्र सम्भव हुँदैन । यसका लागि छालारोग, हाडजोर्नी, आँखा, प्याथोलोजीलगायत विभिन्न चिकित्सा विधाका विशेषज्ञबीच सहकार्य आवश्यक हुन्छ । नेपालमा मात्र नभई विश्वका अन्य मुलुकमा पनि विभिन्न विधाका विशेषज्ञलाई एकै ठाउँमा ल्याएर समन्वय गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
अस्पतालमा बाथरोगको समग्र उपचार तथा विशेषज्ञ जनशक्ति विकासका लागि आवश्यक अधिकांश विधाका विशेषज्ञ उपलब्ध रहेकाले संस्थालाई र्युमाटोलोजी सेवाको केन्द्र (हब) का रूपमा विकास गर्ने सोच अघि सारिएको उनले बताए ।
कार्यक्रमबाट नेपालका विभिन्न अस्पताल तथा स्वदेश–विदेशका संस्थासँग सहकार्य गर्ने स्पष्ट कार्ययोजना तयार हुने अपेक्षा गरिएको छ । बाथरोगसम्बन्धी उपचार सेवालाई देशभरका नागरिकसम्म विस्तार गर्न संस्थागत रूपमा आवश्यक सहयोग र प्रतिबद्धता रहने पनि उनले बताए ।
उनले भने, ‘केवल छलफल र विचारले मात्रै कुनै पहल सफल हुँदैन । त्यसलाई कार्यान्वयन गर्न नेतृत्व, सहकार्य र संस्थागत प्रतिबद्धता आवश्यक हुन्छ । यस पहललाई सफल बनाउन अस्पतालका तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता रहनेछ ।’
