नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद थेवेले संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक रहेको आरोप लगाए।
‘यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने हो भने त एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिन्छ रहेछ’, उनले भने, ‘संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक छ। यसलाई संसदले गम्भीर रूपमा लियोस् र अर्थमन्त्रीज्यूले नैतिक रूपले यसको जिम्मेवारी लिनुहुनेछ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’
यस्तै, उनले राष्ट्रियताको विषय आज नबोले इतिहासले माफ नगर्ने बताए। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्ने बताउँदै उनले संसद्मा आएर माफी माग्नुपर्ने बताए।
