वनस्पति तेलले धानेको निर्यात, व्यापार घाटाको खाडल उस्तै

पछिल्ला चार महिनादेखि लगातार दुई खर्ब रुपैयाँभन्दा बढी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने दुई खर्ब रुपैयाँभन्दा तल झरेको छ । गत चैतदेखि असारसम्म हरेक महिना दुई खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएकामा साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँको वस्तु आएको हो ।  चैतमा २ खर्ब १ अर्ब, वैशाखमा २ खर्ब २ अर्ब, जेठमा २ खर्ब १ अर्ब र असारमा २ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । साउनमा भने अघिल्लो महिनाको तुलनामा आयात करिब १३ अर्ब रुपैयाँले घटेको भन्सार विभागको तथ्यांक छ । आयात घटे पनि साउनमा नेपालको कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८२.८९ र निर्यातको हिस्सा १७.११ प्रतिशत रहेको विभागले जनाएको छ । साउनमा आयात २ खर्ब रुपैयाँभन्दा तल झरे पनि गत आर्थिक वर्षको सोही महिनाको तुलनामा भने आयात ३१.०४ प्रतिशतले बढेको छ ।  गत वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा यस्तो आयात बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको हो । गत साउनको तुलनामा यस वर्षको साउनमा आयात करिब ४४ अर्ब रुपैयाँले बढेको छ ।

निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ । साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको साउनमा यस्तो निर्यात २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँमा सीमित थियो । गत साउनको तुलनामा यस पटक निर्यात ६१.७४ प्रतिशतले बढेको हो । पछिल्ला चार महिनामा भने निर्यातमा उतारचढाव देखिएको छ । चैतमा ३१ अर्ब ८२ करोड, वैशाखमा २६ अर्ब २ करोड, जेठमा २९ अर्ब र असारमा ३७ अर्ब ३२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । चालु आर्थिक वर्षको साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ३८ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । यसले एक महिनामै १ खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा देखाएको छ । निर्यातमा ६१ प्रतिशतभन्दा बढीको उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा निर्यातको आकार अझै निकै सानो छ । साउनको तथ्यांकले पनि व्यापार संरचनामा आयातको उच्च निर्भरता कायमै रहेको देखाएको सरकारका पूर्ववाणिज्य सहसचिव रविशंकर सैंजु बताउँछन् । पहिलो महिनामै देखिएको उच्च व्यापार घाटा चिन्ताजनक रहेको भन्दै उनले यही रफ्तारमा व्यापार घाटा बढ्दै गए चालु आर्थिक वर्षमा घाटा १७/१८ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरे । जुन रफ्तारमा आयात बढिरहेको छ, त्यसलाई घटाउन उत्पादन बढाई निर्यात गर्नुको विकल्प छैन । यो हाम्रो लागि जोखिम संघारमा रहेको (अलार्मिङ सिचुएसन) संकेत हो । अब आन्तरिक उत्पादन र निर्यातमा जोड दिनुपर्छ,’ सैंजुले भने । नेपालले कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्नुपर्नेमा तयारी वस्तुको आयातमा बढी निर्भर हुँदा व्यापार घाटा बढिरहेको उनको भनाइ छ ।

साउनको निर्यात वृद्धिमा प्रशोधित वनस्पति तेलको ठूलो योगदान देखिएको छ । एक महिनामै १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको विभागको तथ्यांक छ । १ अर्ब २९ करोड २९ लाख रुपैयाँको पाम तेल र १ अर्ब २० करोड ७५ लाख रुपैयाँको सनफ्लावर तेल निर्यात भएको छ । यसले साउनको निर्यात वृद्धिमा सीमित प्रशोधित वस्तुको ठूलो योगदान रहेको देखाउँछ । निर्यातमा तेलको हिस्सा मात्रै ५५ प्रतिशतभन्दा बढी रहेको सैंजुले बताए । साउनमा नेपालले सबैभन्दा धेरै वस्तु भारतबाट आयात गरेको छ । भारतबाट मात्रै १ खर्ब २ अर्ब ४५ करोड १३ लाख रुपैयाँको वस्तु आयात भएको छ । चीनबाट ३१ अर्ब ७४ करोड ६१ लाख रुपैयाँको वस्तु आयात भएको छ । अर्जेन्टिनाबाट १३ अर्ब ८५ करोड २९ लाख, साउदी अरबबाट ४ अर्ब ९८ करोड ७३ लाख, रुसबाट ४ अर्ब १३ करोड १३ लाख, अमेरिकाबाट ३ अर्ब ३४ करोड, ओमानबाट २ अर्ब ८५ करोड र अस्ट्रेलियाबाट २ अर्ब ५१ करोड रुपैयाँको वस्तु आएको विभागको तथ्यांक छ ।  भारत र चीनबाट मात्रै साउनमा १ खर्ब ३४ अर्ब १९ करोड ७४ लाख रुपैयाँको वस्तु आयात भएको छ । यसले नेपालको आयात व्यापार मुख्यतः दुई छिमेकी मुलुकमा केन्द्रित रहेको देखाउँछ । निर्याततर्फ पनि नेपालको सबैभन्दा ठूलो बजार भारत नै छ । साउनमा भारततर्फ ३३ अर्ब २६ करोड ३६ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको करिब ८६ प्रतिशत हो । दीर्घकालीन रूपमा निर्यातलाई दिगो बनाउन वस्तु तथा बजार दुवैको विविधीकरण आवश्यक रहेको उनको भनाइ छ । ‘हामी आयातमा निर्भर भइरहेका छौं । आयात र निर्यात दुवैमा भारतसँग निर्भर भयौं । छिमेकी चीनसँग पनि निर्यात गर्न सकेनौं । अन्य बजार पनि हामीले एक्सप्लोर गर्न सकेका छैनौं,’ उनले भने । भारतले विभिन्न देशसँग स्वतन्त्र व्यापार सम्झौता (फ्री ट्रेड एग्रिमेन्ट) गर्दै गए पनि नेपालले नयाँ बजार विस्तार र व्यापार सम्झौताका विषयमा पर्याप्त ध्यान दिन नसकेको सैंजुले बताए । नेपालले पनि नयाँ–नयाँ देशसँग व्यापार सम्झौता गरी नेपाली वस्तुका लागि बजार विस्तार गर्नुपर्ने उनको भनाइ छ ।अमेरिकातर्फ २ अर्ब १८ करोड ६३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । जर्मनीतर्फ ४१ करोड ४ लाख, बेलायततर्फ ३४ करोड ७९ लाख, जापानतर्फ २६ करोड ७७ लाख, अस्ट्रेलियातर्फ २५ करोड ५८ लाख, यूएईतर्फ २४ करोड ९१ लाख र चीनतर्फ २१ करोड २६ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यातमा पनि भारतको हिस्सा अत्यधिक ठूलो रहेकाले नेपालको बाह्य व्यापारमा बजार विविधीकरणमा जोड दिनुपर्ने सैंजुको भनाइ छ ।  साउनमा सबैभन्दा बढी आयात हुने वस्तुमा कच्चा भटमासको तेल छ । एक महिनामा १८ अर्ब ४० करोड ४२ लाख रुपैयाँको कच्चा भटमासको तेल आयात भएको छ । त्यसपछि १३ अर्ब ८५ करोड ४५ लाख रुपैयाँको डिजेल र ८ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ । ७ अर्ब ८६ करोड ९३ लाख रुपैयाँको डाइमोनियम हाइड्रोजन फस्फेट, ६ अर्ब ८८ करोड २४ लाख रुपैयाँको पेट्रोल तथा ४ अर्ब ६१ करोड ५५ लाख रुपैयाँको फलाम तथा फलामका सामग्री आयात भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *