मन्दिरभित्र जुत्ता नलगाउन आग्रह गरेकै कारण चितवनमा ७८ वर्षीय शान्तकुमार श्रेष्ठमाथि हेल्मेट प्रहार भयो । यो सामान्य आक्रमण मात्र थिएन, सम्मान र सुरक्षाको अपेक्षा गर्ने उमेरमा नेपालका धेरै ज्येष्ठ नागरिकले घरदेखि सार्वजनिक स्थलसम्म भोगिरहेका अपमान, उपेक्षा र दुर्व्यवहारको प्रतिनिधि दृश्य पनि थियो ।
केही दिनअघि भरतपुरको महाकालेश्वर मन्दिरमा भएको यो घटना क्यामरामा कैद भयो र सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । भरतपुर-१० महाकालेश्वर मन्दिरमा भक्तजनहरू दीप, धूप र प्रार्थनामा गरिरहेका थिए । साँझको आरती चलिरहेको थियो । त्यही भीडमा एक बालक जुत्ता लगाएर मन्दिरभित्र प्रवेश गर्न खोजे । त्यसैबेला श्रेष्ठले जुत्ता लाएर नजान आग्रह गरे । मन्दिर जान रोकेको भन्दै अर्का २१ वर्षीय शेखर चन्दले वृद्ध श्रेष्ठमाथि हेल्मेटले प्रहार गरे ।
चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रभूषण यादवका अनुसार घटना साउन ७ को हो । कपिलवस्तुको शिवराज नगरपालिका–९ निवासी २१ वर्षीय शेखर चन्दलाई घटनालगत्तै नियन्त्रणमा लिएको उनले बताए । ‘उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया चलिरहेको छ ।’
गत चैतमा एक ज्येष्ठ नागरिकलाई सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परे । भिडियोमा देखिएअनुसार ललितपुरको लगनखेलस्थित सडकपेटीमा एक ज्येष्ठ नागरिक पैदल हिँडिरहेका देखिन्छन् । हातमा झन्डा बोकेर एक समूह गइरहेका बेला उनले केही बोलेका हुन्छन् । केही व्यक्ति आएर उनलाई घेर्छन् । एकजनाले त उनीमाथि हातपात गर्न खोजेको भिडियोमा प्रस्ट देखिन्छ ।
पछि गोदावरी नगरपालिका-१० टौखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईंलाई जिल्ला प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको थियो । उक्त घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको समेत ध्यानकर्षण भएको थियो । उनले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै ‘कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही छैन’ लेखेका थिए । उनी पीडितको घरमा समेत भेट्न पुगे । काठमाडौंको टोखा नगरपालिका–७ धापासी, ग्रीनल्यान्डकी ६५ वर्षीया सावित्री बराल कतै जाँदा सार्वजनिक यातायात चढ्न नपरोस् भन्ने सोच्छिन् । किनकि उनीसँग दुर्व्यवहारको नमिठो अनुभव छ ।
केही महिनाअघि ग्रीनल्यान्डबाट टोखा झोरमा रहेको एक मन्दिर जान उनी माइक्रो चढेकी थिइन् । ‘ट्याक्सी नपाएपछि कोचाकोच भए पनि चढ्यौं,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकले सिटमा बस्न पाउनु त परको कुरा, झन् पछाडि जानुस् भन्दै ठूलो स्वरमा अगाडिबाट कराए । कतिले त ट्याक्सीमा जानु नि बुढाबुढी भने ।’
यस्तै व्यवहारले उनलाई अहिले सार्वजनिक सवारी चढ्न मन लाग्दैन । ‘अहिले त केही काम परे छोराहरुलाई पुर्याइदिन भन्छु । उनीहरुले नभ्याउँदा ट्याक्सी बोलाइदिन्छन्,’ उनले भनिन् ।
सावित्री फेकबुक चलाउँछिन् । ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यवहारका भिडियो देख्दा उनको मन खिन्न हुन्छ । ‘हामी पनि कुनै समय जवान थियौं । अहिले पो बुढेसकाल लाग्यो । सबैको त्यही समय आउने होइन र,’ उनी भन्छिन्, ‘तर पनि किन होला आफू बुढै नहुने जसरी त्यसरी पीडा दिन्छन् ।’ सार्वजनिक स्थल मात्रै होइन घरमा पनि ज्येष्ठ नागरिकका लागि सुरक्षित वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
