तेञ्जिङ नोर्गे बस टर्मिनसको पुनर्निर्माण गरिने

सिलगढ़ीको तेञ्जिङ नोर्गे बस टर्मिनस पुनर्निर्माण गरिने भएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम र सिलगढ़ी नगर निगमले संयुक्त रूपमा यो पहल गरिरहेका छन्। सिलगढ़ी जङ्क्सनमा अवस्थित यो बस टर्मिनस विभिन्न रूटका बसहरूको मुख्य केन्द्र हो जहाँ दैनिक हजारौँ यात्रीहरू ओहोरदोहोर गर्छन्। यस टर्मिनसले केही समयदेखि विभिन्न समस्या भोगिरहेको थियो। ती समस्याहरू समाधान गर्न अधिकारीहरूले त्यहाँ नयाँ पेभर ब्लकहरू जड़ान गर्ने कार्य आरम्भ गरेका छन्। साथै परिसरको समग्र रूप-रङ सुधार गर्न सौन्दर्यीकरणको कार्य पनि भइरहेको छ। दुई दिनअघि सिलगढ़ी नगर निगम प्रमुख गौतम देवले एनबीएसटीसीका अधिकारीहरूसित टर्मिनसको निरीक्षण गरेका थिए। यस पहलअन्तर्गत बस पार्कमा सरसफाई कायम राख्ने उपायहरू पनि अपनाइँदैछ। प्राप्त रिपोर्टहरूअनुसार वरपरका होटलहरूबाट त्यहाँ फोहोर फालिने गरेको पाइएको छ। यस समस्याको समाधानका लागि नगर निगमले अब त्यहाँ एउटा भ्याट (फोहोर सङ्कलन ट्याङ्की) राख्ने भएको छ।
त्यस्तै राति सुरक्षा सुनिश्चित गर्न पुलिस कर्मचारीहरू परिचालन गरिनेछन् किनकि साँझपछि त्यहाँ असामाजिक गतिविधिहरू हुने गरेका गुनासो आएको छ। आगामी दिन पुलिस, जिल्ला प्रशासन, एनबीएसटीसी र नगर निगमबीच तेञ्जिङ नोर्गे बस टर्मिनस सम्बन्धी थप विकास र कार्वाहीबारे संयुक्त छलफल गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *