भोलि–पर्सि झरी-बतासको सम्भावना

मौसम विभागअनुसार बङ्गालको खाड़ीको दक्षिण पश्चिम र पश्चिम मध्य भागमा बनेको न्यून चापीय क्षेत्र निरन्तर उत्तर पश्चिमतर्फ सर्दै गइरहेको छ। बिहीवार त्यो क्षेत्र अझ केन्द्रित भएको थियो भने आज उत्तर पूर्वतर्फ सरेको छ। यसकारण पूर्वोत्तर क्षेत्रहरू जस्तै दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, अलिपुरद्वार र कूचबिहार जिल्लामा झरी-बतासले तीव्र प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। आज रातिदेखि नै यी जिल्लाहरूमा तीव्र हावा, भारी वर्षा, चट्याङ्ग आदिको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
सिलगढ़ी अनि वरपरका क्षेत्रमा बुधवार राति आरम्भ भएको झरी-बतासले गर्मी केही कम्ती भएको छ। तर यसले अन्नबालीलाई क्षति पुर्याआएको छ। सिलगढ़ीका केही क्षेत्रमा रूखहरू ढलेका छन् भने कैयौँ ठाउँमा बिजुली सर्वराह ठप्प बनेको थियो। आज दिनभरि सिलगढ़ीमा कहिले घाम लाग्यो त कहिले बादल छाएको स्थिति देखियो। दिउँसो घाम निकै तेज थियो तर पछि घाम कमजोर हुँदै फेरि बलियो छायो। क्षेत्रीय मौसम विशेषज्ञ गोपीनाथ राहाअनुसार यो साता मौसम यस्तै रहनेछ। शनिवार र आइतवार दार्जीलिङ, जलपाइगढ़ी, कालेबुङ, अलिपुरद्वार र कूचबिहार जिल्लामा अझ तीव्र हावाहुण्डरी, चट्याङ र वर्षा हुन सक्नेछ। केही जिल्लामा हल्कादेखि मध्यम वर्षा पनि हुन सक्छ। आइतवार केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। यी सबै जिल्लामा प्रति घण्टा 30 देखि 40 किलोमिटरको गतिमा हावा चल्न सक्छ।
अलिपुरस्थित क्षेत्रीय मौसम कार्यालयबाट प्राप्त जानकारीअनुसार यस हप्ताको अन्त्यसम्म तापक्रममा 2-3 डिग्री सेल्सियसको ह्रास आउन सक्छ। मौसम विभागअनुसार आगामी तीन–चार दिनसम्म यस्तो स्थिति कायम रहनेछ। समग्रमा हेर्दा अर्को सातादेखि मौसम सफा हुने अनुमान गरिएको छ। त्यसपछि सिलगढ़ीका मानिसहरूले फेरि गरमको सामना गर्नुपर्ने हुन सक्छ।
मौसम विज्ञ एच. आर. विश्वासअनुसार ‘काल बैशाखी’ एक मौसमी घटना हो जुन प्रत्येक वर्ष अप्रेल–मई महीनामा बङ्गाल र पूर्वोत्तर भारतमा देखिन्छ। यसमा अचानक तेज हावाहुण्डरी चल्ने गर्छ साथै चट्याङ र वर्षा पनि हुन्छ। तिनले भनेअनुसार केही दिनभित्र काल बैशाखी र बङ्गालको खाड़ीमा सक्रिय न्यून चापीय क्षेत्रको कारण भारी वर्षा हुने सम्भावना छ। तर सोमवारदेखि मौसममा केही सुधार आउनेछ। अन्य मौसम विज्ञ गोपीनाथ राहाअनुसार उत्तर बङ्गालका अधिकांश जिल्लामा चट्याङ र वर्षा हुने उच्च सम्भावना रहेको छ। शनिवार र आइतवार वर्षाको मात्रा अझ बढ्न सक्छ। सिलगढ़ी अनि वरपरका क्षेत्रमा प्रति घण्टा 30 देखि 40 किलोमिटरको गतिमा हावा चल्न सक्नेछ जसले जनजीवन प्रभावित पार्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *