तीन अर्ब बढीको भाइमसला आयात

तिहारमा दिदी–बहिनीले दाजुभाइलाई दिने भाइमसला यस वर्ष अर्बौँ रुपैयाँको आयात भएको छ । यस वर्षको तिहारका लागि तीन अर्बको भाइमसला आयात भएको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ बराबरको ‘भाइमसला’ आयात गरिएको छ ।
‘भाइमसला अन्तर्गत ओखर, बदाम, काजु, किसमिस, पेस्ता, नरिवल आदि ड्राइ फ्रुट्स पर्छन् । नेपालमा उत्पादन हुने ड्राइ फ्रुट्सले तिहारमा नपुग्ने भएकाले विभिन्न देशबाट आयात गर्ने गरिएको छ ।
विशेषगरि नेपालमा भारत, भियतनाम, चीन, कतार, साउदी, मलेसिया, कुवेत, कोरिया, बेलायत, इजरायल लगायत देशबाट ‘भाइमसला’ आयात गरिएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा ८४ करोड ७७ लाख रुपैयाँ बराबरको सुपारी आयात हुँदा ५८ करोड ६५ लाख रुपैयाँ बराबरको नरिवल आयात गरिएको छ ।
यो वर्ष ४६ करोड ५७ लाख रुपैयाँ बराबरको काजु आयात गरिएको छ भने ६५ करोड ३९ लाख रुपैयाँ बराबरको ओखर आयात गरिएको छ ।
यस्तै, यस अवधिमा ४७ करोड ९३ लाख बराबरको बदाम, २७ करोड ६३ लाख बराबरको किसमिस, ३० लाख बराबरको पिस्ता र ४–४ लाख बराबरको खजुर र छोकडा आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *