बादलरहित आकाशमा तराईबाटै अहिले कञ्चनजङ्घा स्पष्ट देख्न सकिन्छ। कञ्चनजङ्घा देखेर पहाड़ घुम्न आएका पर्यटकहरू स्वाभाविक रूपमा उत्साहित छन्। तर दिउँसो खासै जाड़ो अनुभव भइरहेको छैन। मध्य दिसम्बरमा जाड़ो हराएको अनुभूति हुँदा दार्जीलिङ मल रोडमा हल्का लुगा लगाएर हिँड़िरहेका धेरै पर्यटकहरू निराशा छन्। तराईमा पनि यस्तै निराशा छ। अचानक हराएको जाड़ोले सिलगढ़ीको भूटिया मार्केटमा किनमेल गर्न आउने ग्राहकहरूको सङ्ख्या धेरै कम्ती छ। थोरै ग्राहकहरूको उपस्थिति र सामान्य बिक्रीले व्यवसाय कसरी चल्छ भनेर प्रेमा गुरुङ चिन्तित छन्। बिहान र रातिबाहेक, जलपाइगढ़ी र कोचबिहारमा पनि पसिना झर्ने मौसम छ। तसर्थ यी दुई जिल्लाको बजारमा पनि तातो लुगाको व्यवसायमा मन्दी आएको छ। जाड़ो राम्ररी आरम्भ नहुँदै बिदा लिएको हो त? भन्ने उत्तरभरि नै प्रश्न उठिरहेको छ। दक्षिण बङ्गालमा जाड़ोको लहर आरम्भ भइसकेको बेला उत्तरमा यस्तो असामान्य स्थिति किन देखिँदैछ?
सामान्यतः उत्तर बङ्गालको जाड़ो पश्चिमी बतासमाथि निर्भरशील हुन्छ। बलियो बतासको अभावमा जाड़ोको अनुभूति हुँदैन। अहिले बतासको उपस्थिति छैन। बादलरहित आकाशको कारण प्रत्यक्ष सूर्यको प्रकाशले दिउँसो निकै न्यानो हुन्छ। आगामी दुई दिनमा अवस्था धेरै परिवर्तन नहुने सिक्किमका क्षेत्रीय मौसम विभागीय निर्देशक गोपीनाथ राहा बताउँछन्। तर शुक्रवारदेखि हावामा परिवर्तनको सम्भावना बलियो रहेको तिनले स्पष्ट पारेका छन्।
तिनीअनुसार शुक्रवार सिक्किम र दार्जीलिङ पहाड़मा छरपष्ट हल्का वर्षा हुन सक्छ। हिमकण पनि झर्न सक्छ। भाग्य राम्रो भए शनिवार तराईका केही ठाउँमा पनि वर्षा हुन सक्छ। यस्तो मौसम रहे उत्तर बङ्गालका जिल्लाहरूमा दिउँसो पनि फेरि जाड़ोको अनुभूति गर्न सकिन्छ। तर यस्तो अवस्थामा जाड़ो कति दिन टिक्ने हो? कुनै पनि मौसमविदले पक्कापक्की यसबारे भन्न सकेका छैनन्। तिनीहरू भन्छन्, कम्तीमा चार-पाँच दिन त रहनेछ। त्यससितै वर्षापछि घना कुहिरोले उत्तर बङ्गालका धेरै जिल्लाहरू ढाक्ने सम्भावना छ।