मालबजारलाई जलपाइगुडी एनबीएसटीसी डिपोमा गाभ्ने

डिपो सञ्चालन गर्न सक्षम इञ्चार्जहरूको अभाव छ। त्यसैले उत्तर बङ्गाल राज्यीय यातायात निगम जलपाइगढ़ी डिपो र मालबजार डिपोलाई गाभ्ने योजना छ। यसबारे सरकारसित निवेदन प्रक्रिया पनि आरम्भ गरिएको निगम सूत्रले जनाएको छ। यति मात्र होइन आउँदो महीना तेञ्जिङ नोर्गे बस टर्मिनलका इञ्चार्जको अवकाश हुनेछ। त्यसकारण उक्त पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा पनि निगमभित्र प्रश्न उठिरहेको छ। कर्मचारी र अधिकारीहरूको अभावको कारण उत्पन्न समस्यालाई सम्हाल्न उत्तर बङ्गाल राज्यीय यातायात निगमका अधिकारीहरू समस्यामा परेका छन्। जलपाइगढ़ी र मालबजार डिपोलाई गाभ्ने योजनालाई निगमका प्रबन्धन निर्देशक दीपंङ्कर पीप्लाईले स्वीकार गरेका छन्। तिनले भने, केही वर्षदेखि एउटै कर्मचारीलाई धेरै महत्त्वपूर्ण पदमा राखेर काम गराइँदैछ। तर अब त्यो सम्भव छैन। त्यसैले यस्तो योजना आउँदैछ। निगममा कहिले नयाँ कर्मचारी नियुक्त हुनेछ भनेर तोक्न सकिने स्थिति छैन। 1996 मा अन्तिमपटक उत्तर बङ्गाल राज्यीय यातायात निगमले स्थायी कर्मचारी नियुक्त गरेको थियो। त्यसपछि कहिलेकाहीँ कण्ट्र्याक्टचुअल कर्मचारी मात्र नियुक्त गरियो। अन्तिमपटक 2017 मा कण्ट्र्याक्टचुअल कर्मचारीको नियुक्ति गरिएको थियो। तर एकपछि अर्को कर्मचारी र अधिकारीहरू अवकाश लिन थालेपछि समस्या गम्भीर बनेको छ। गत वर्ष अगस्तमै निगमका अधिकारीहरूले कर्मचारी नियुक्ति नहुँदा डिपो बन्द हुने अवस्था आउन सक्ने जानकारी दिएका थिए।
त्यसपछि पनि स्थिति धेरै परिवर्तन भएको छैन। निगमका अधिकारीहरूले व्यक्त गरेका चिन्ता सत्यमा परिणत भइसकेको छ। निगम सूत्रअनुसार यसै महीना मालबजार डिपोको इञ्चार्ज पद खाली हुनेछ। उक्त पदका लागि योग्य अधिकारी फेला पार्न निगमलाई समस्या भइरहेको छ। फेरि जलपाइगढ़ी डिपोको इञ्चार्ज पदमा रहेका अधिकारीको पनि केही महीनापछि अवकाश हुने भएकाले अहिले मालबजार डिपोलाई जलपाइगुडी डिपोसित गाभ्ने विचार चलिरहेको छ। तर समस्या यतिमै सीमित छैन। यो समस्या चारैतिर फैलिएको छ। तेञ्जिङ नोर्गे बस टर्मिनलको ओसी इञ्चार्ज पद पनि आउँदो महीना खाली हुनेछ। यस्तो अवस्थामा अत्यन्त महत्त्वपूर्ण टर्मिनल कसरी सञ्चालन गर्ने भन्ने प्रश्नले सबैलाई अलमल्लमा पारेको छ।

अन्य पदहरूको स्थिति अझ जटिल छ। डिभिजनल इञ्चार्जको जिम्मावारी ट्राफिक अफिसरले सम्हालिरहेका छन्। ईडीपी अपरेटरले एकाउण्ट अफिसरको काम गरिरहेका छन्। स्टोर किपर, स्टोर अफिसर, सहायक इञ्जीनियर, फ्युल इन्स्पेक्टरजस्ता महत्त्वपूर्ण पद खाली छन्। अर्को महीना मेकानिकल इञ्चार्जको पद पनि खाली हुँदैछ। एकजना जुनियर फोरम्यानले गत महीना अवकाश लिएपछि त्यो पद पनि खाली छ। निगमका वामपन्थी सङ्गठनका केन्द्रीय सदस्य तुफान भट्टाचार्यले भने, सरकार उत्तर बङ्गाल राज्यीय यातायात निगमलाई निजी फ्रेञ्चाइजको हातमा सुम्पन चाहन्छ। घाटामा चलिरहेका रूटहरू बन्द गर्ने योजना छ। लाभजनक रूटहरू फ्रेञ्चाइजलाई दिने विचार छ। हामी यस विषयमा आउँदो 31 जनवरी प्रबन्ध निर्देशकसित छलफल गर्नेछौँ। यता निगमको तृणमूल श्रमिक सङ्गठनका महासचिव समीर सरकारले भने, गाभ्ने विषयमा अहिलेसम्म सुनेको छैन। यदि गाभिए पनि ठूलो समस्या आउने छैन किनभने मालबजार डिपोबाट धेरै रूटका बसहरू चल्दैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *