हालैको घटनामा एनजेपी पुलिस चौकीका अधिकारीहरूले फूलबारीको आमैदिघी क्षेत्रबाट एकजना बङ्गलादेशी अनुप्रवेशकारीलाई अनि कालियागञ्जका एकजना वासिन्दालाई पक्राउ गरेका छन्। पक्राउ परेका बङ्गलादेशी अनुप्रवेशकारीको नाम अताउर रहमान हो।
प्राप्त रिपोर्टअनुसार, हल्दीबारीका वासिन्दा विपुल अधिकारीले बङ्गलादेशी नागरिकलाई भारत प्रवेश गर्न सहयोग गरेका थिए। अताउर रहमानका आफन्त फरदोस आलम हल्दीबारीमा तिनलाई कालियागञ्ज लैजानका लागि आइपुगेका थिए। बिहीवार तीनैजना चार चक्के गाड़ीमा कालियागञ्जतर्फ गइरहेका थिए। गुप्त सूचनाको आधारमा, एनजेपी थाना पुलिसले आमैदिघी क्षेत्रमा जाल थापेको थियो।
उक्त गाड़ी आमैदिघी क्षेत्रमा प्रवेश गर्दा पुलिसले रोक्यो र सोधपुछको क्रममा संदिग्धहरूको बयानमा असङ्गति भेट्टाइयो। यसै क्रममा विपुल अधिकारी भाग्न सफल भए। तर बङ्गलादेशी नागरिक अताउर रहमान र कालियागञ्जका वासिन्दा फरदोस आलमलाई पक्राउ गरियो। दुवैजनालाई शुक्रवार जलपाइगढ़ी जिल्ला न्यायालयमा प्रस्तुत गरिएको छ। पुलिसले घटनाको जाँच जारी राखेको छ।