नेपाल–कोरिया अस्पतालमा १५ शय्याको मोडुलर आईसीयू सुरु

मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले मोडुलर आईसीयू सेवा सुरु गरेको छ। बिहीबार मोडुलर आईसीयू सेवा उद्घाटन गर्दै अस्पतालका अध्यक्ष एवं नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले चुनावी प्रतिबद्धताबमोजिम नगरपालिका अस्पताललाई व्यापक विकास गरिएको बताए।
चार वर्षमा अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक र डायलासिस सेवासँगै मोडुलर आईसीयू सेवा सञ्चालन सम्भव भएको भन्दै उनले अब छिट्टै मुटुरोग उपचार सेवा पनि सुरु गर्ने जानकारी गराए।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले सघन उपचार आवश्यक पर्ने बिरामी अब रिफर गर्नु नपर्ने स्पष्ट पारे। विगतमा घाटामा रहेर कर्मचारीको तलबसमेत दिन नसक्ने अवस्थाको अस्पताल अहिले सुविधासम्पन्न बन्दै गएको र गुणस्तरीय स्वास्थ्य सेवाकै कारण घाटामा नरहेको बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले नगर अस्पतालमै मोडुलर आईसीयू सेवा विस्तारले स्वास्थ सेवाको पहुँच सुनिश्चित भएको बताइन्।
अस्पतालका कार्यकारी निर्देशक डा. डिके रोशनका अनुसार सामान्य आईसीयूको तुलनामा आधुनिक उपकरणसहितको मोडुलर आईसीयूले सघन उपचारको क्रममा सम्भावित संक्रमणबाट बचाउँछ। सरकारी अस्पतालमा मोडुलर आईसीयू सेवा सञ्चालन गर्ने नेपाल कोरियामैत्री नगरपालिका अस्पताल जिल्लामै पहिलो भएको उनको भनाइ छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले दिएको जानकारी अनुसार २ करोड २८ लाखको लागतमा सुरु गरिएको मोडुलर आईसीयूका लागि १५ शय्या उपलब्ध छन्। अस्पताल प्रशासन अधिकृत रुपेश श्रेष्ठका अनुसार ओपीडीमा दैनिक औसत १ हजार २ सय बिरामी आउने गरेका छन् र मोडुलर आईसीयूको उपलब्धताले यो संख्या बढ्नसक्ने उनले बताए।
दक्षिण कोरिया सरकारमार्फत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोगमा करिब १ अर्ब २५ करोड रुपैयाँको लागतका अस्पतालको सुविधासम्पन्न भवनसमेत निर्माणाधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *