श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह पदमुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहले मन्त्री साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाएका हुन्।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।
सोही सिफारिसका आधारमा श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।
You may also like
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
