राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ७०० बढी प्रसूति तथा स्त्री रोग विशेषज्ञको सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)को १८औँ राष्ट्रिय सम्मेलनको लागि प्रसूती तथा स्त्री रोग विशेषज्ञहरु भेला भएका हुन्।
साफोगनेसोगकन २०२६ नाम दिइएको यो संयुक्त सम्मेलनको नारा दक्षिण एसियामा महिला स्वास्थ्यको उन्नतीः गुणस्तर नविनता र दीगोपना राखिएको छ ।
सम्मेलन अन्तर्गतका कतिपय सेसनहरु बिहीबारबाट सुरु भए पनि औपचारिक शुभारम्भ भने शुक्रबार बेलुका गरिएको छ ।
पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्माले सम्मेलनको औपचारिक उद्घाटन गरिन् । सो अवसरमा उनले सम्मेलनबाट आएका निष्कर्षहरुले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने उल्लेख गरिन् ।
नेसोगका अध्यक्ष प्राडा पदमराज पन्तले प्रसूति तथा स्त्री रोगबारे विभिन्न देशमा गरिएका नविन खोज अनुसन्धान तथा उपचारले ज्ञानको दायरालाई फराकिलो पार्ने बताए ।
सम्मेलनमा १०० बढी विदेशी र ६०० बढी नेपालीको सहभागिता छ ।
आइतबारसम्म चल्ने सम्मेलनको मुख्य सेसन अघि नै ६ वटा प्रि कंग्रेस वर्कसप भएको र पछि छ वटा पोष्ट कंग्रेस वर्कसप हुने बताए । यस्तै तीनवटा प्रेष्टिजियस ओरेसस प्रदान गरिँदैछ । सम्मेलनमा २०० वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुनेछ ।
