ईयू राजदूत लोरेन्जोले गरिन् परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

काठमाडौँ नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल(ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत लोरेन्जोले मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताउँदै मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गरिन्। परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरेकी छन्। भेटमा राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताएकी थिइन्।
परराष्ट्रमन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिएका छन्। त्यसैगरी, राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा ईयूले नेपालसँग सहकार्य गर्ने योजना रहेको बताएकी छन्।
मन्त्री खनालले उक्त प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे। सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर रहेको खनालले बताएका छन्।
भेटवार्तामा नेपाल अल्पविकसित मुलुक ९एलडीसी० बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा समेत छलफल भएको थियो। नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूले सहयोग गर्ने आश्वासन राजदूत लोरेन्जोले दिएकी छन्।
त्यस अवसरमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत छलफल भएको थियो। राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरेकी थिइन्। जवाफमा मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *