भत्ता कम्ती तर कामको चाप बढ़ी। गत तीन महीनामा सिलगढ़ी नगर निगमबाट कम्तीमा 10 जना चिकित्सकले राजीनामा दिएका छन्। काम छोड्नेबित्तिकै ती चिकित्सकहरू शहरका कुनै न कुनै नर्सिङ होममा सामेल भइसकेका छन्। यसैबीच चिकित्सकको अभावको कारण नगर निगमका धेरै स्वास्थ्य र सुस्वास्थ्य केन्द्रहरूमा दैनिक चिकित्सक उपलब्ध गराउन सकिएको छैन। कतिपय सुस्वास्थ्य केन्द्रहरूमा हप्तामा तीन दिन मात्र चिकित्सक उपलब्ध गराउन सकिएको छ भने कतै चार दिन मात्र। धेरैजसो नगर निगमका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पनि चिकित्सकको कमी छ। चिकित्सक अभावको कारण हाल उपलब्ध चिकित्सकहरूले थप काम गर्नु परिरहेको छ। यस्तो अवस्थामा हाल कार्यरत चिकित्सकहरू कति दिनसम्म रहने भन्ने विषयमा आशङ्का बढ्न थालेको छ। तर नगर निगमको स्वास्थ्य विभागका मेयर परिषद सदस्य दुलाल दत्तअनुसार चाँड़ै नै नयाँ चिकित्सकहरू आउनेछन्। दत्तले भने, छिट्टै चिकित्सकहरू आएर काम आरम्भ गर्नेछन्। यो महीनाभित्रै तिनीहरू आउने सम्भावना छ।
सिलगढ़ी नगम निगम क्षेत्रमा एउटा मातृसदन, 10 वटा नगर निगम प्राथमिक स्वास्थ्य केन्द्र र 14 वटा सुस्वास्थ्य केन्द्र छन्। यी सबै केन्द्रहरू सुचारु रूपमा सञ्चालन गर्न कम्तीमा 30 जना चिकित्सक आवश्यक पर्छन्। यति सङ्ख्या नभए पनि न्यूनतम 25 जना चिकित्सक चाहिन्छ। तर हाल 18 जना मात्र चिकित्सकहरू कार्यरत छन्। तीमध्ये केही चिकित्सकले दुई-दुईवटा स्वास्थ्य केन्द्रको जिम्मावारी लिनुपर्छ। कुनै चिकित्सक बिदामा गए वा बिरामी परे तिनको ठाउँमा अरूले पनि काम सम्हाल्नुपर्छ। यता यी स्वास्थ्य केन्द्रहरूमा चिकित्सकको मासिक भत्ता निकै कम्ती छ। यसकारण चिकित्सकहरूले काम छोड़िरहेका छन्। लगभग आठ महीना पहिले नवान्नमा अनुरोध पठाएर नगर निगमले 10 जना चिकित्सक पाएको थियो। तर पछिल्ला तीन महीनामा 10 जना चिकित्सकहरूले जागिर छोड़िसकेका छन्।
स्वास्थ्य विभाग सूत्रअनुसार चिकित्सकहरू औसत तीनदेखि चार महीना मात्र काम गरिरहेका छन्। यसबीच तिनीहरूलाई नयाँ अवसरहरू आइरहेका छन् जसको कारण तिनीहरूले जागिर छोड़िरहेका छन्। चिकित्सक अभावकै कारण नगर निगमले एउटा सुस्वास्थ्य केन्द्र नै आरम्भ गर्न सकेको छैन। वार्ड नम्बर 42 मा रहेको उक्त केन्द्रको भवन खाली छ। यस्तै अवस्थामा सिलगढ़ी नगर निगमले रेलको जमीनमा नयाँ सुस्वास्थ्य केन्द्र निर्माण गर्न अनापत्ति पत्र मागिरहेको छ। दुर्गागढ़ी लगायत विभिन्न क्षेत्रमा रहेको खाली रेल जमीनमा नयाँ केन्द्र खोल्ने योजना रहेको छ। हाल नगरनिगमले 33 वटा सुस्वास्थ्य केन्द्र निर्माण गर्ने योजना बनाएको छ।यस विषयमा विपक्षी दल भाजपाले कटाक्ष गरेको छ। पहिले सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रहरू राम्ररी व्यवस्थापन गर्नुपर्ने तिनीहरूको माग छ। नगर निगमका विपक्षी दल नेता अमित जैनले भने, केन्द्र सरकारको पैसाले पूर्वाधार निर्माण भइरहेको छ तर चिकित्सकहरू भने नियुक्त गरिएका छैनन्। पहिले चिकित्सकको नियुक्ति गरियोस् त्यसपछि मात्र रेलको जमीनमा नयाँ स्वास्थ्य केन्द्र बनाउने कुरा गरियोस्।