नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । यसअघि एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
एमाले उपमहासचिव लेखराज भट्टले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई दिइने पदिय जिम्मेवारीबारे पार्टीले निर्णय गर्ने बताए ।
एमालेको यो निर्णयसँगै एमालेभित्रको शक्ति सन्तुलन, नेतृत्वको भविष्य र संवैधानिक मर्यादासम्बन्धी प्रश्न फेरि चर्चामा आएका छन्।
भण्डारीको सदस्यता नवीकरणलाई धेरैले भावी शक्ति समीकरणसँग जोडेर हेरेका छन्। एमालेभित्र एकथरीले उनलाई सम्भावित अभिभावकीय वा वैकल्पिक केन्द्रका रूपमा हेर्ने गरेका छन् भने अर्को पक्षले यसलाई ओली नेतृत्वलाई थप वैधता दिने रणनीतिका रूपमा व्याख्या गरिरहेको छ।
