जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले मान्यता दिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले गत पुस २७ गते औपचारिक रूपमा एकता घोषणा गरेका थिए। त्यसपछि फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि दुवै पार्टी संयुक्त रूपमा सहभागी भएका थिए।
दुवै पार्टीले आवश्यक सबै प्रक्रिया पूरा गरी कागजात बुझाएपछि आयोगबाट आधिकारिक मान्यताको पत्र प्राप्त भएको पार्टीका नेता शैलेन्द्र साहले जानकारी दिए।
नेता साहका अनुसार निर्वाचन आयोगले जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको जानकारी संघीय संसद् सचिवालय तथा प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको छ। यससँगै प्रदेश तहमा पनि पार्टी एकीकरण प्रक्रियाले पूर्णता पाउने अपेक्षा गरिएको छ।
एकता प्रक्रिया टुङ्गिएसँगै जसपा नेपालको कार्यान्वयन समिति ५४ सदस्यीय बनेको छ। समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने अन्य सदस्यहरू कार्यसमितिमा समावेश छन्।
