पोखरा प्रहरीले सञ्चालन गरेको ‘स्विप अप्रेसनमा १२२ जना व्यक्ति पक्राउ परेका छन् ।
लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले स्विप अप्रेसन सञ्चालन गरेको हो ।
कास्कीका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार वैशाख ९ गते राति ९ बजेदेखि १० गते बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न वडा तथा एरियामा एकैसाथ अप्रेसन गरिएको थियो । अप्रेशनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका गरी एक सय जना प्रहरी परिचालन गरिएको थियो ।
त्यस क्रममा लागु औषध बिक्री–वितरण तथा सेवनमा संलग्न, शङ्कास्पद रूपमा हिँडडुल गर्ने तथा मापसे गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पेखरा–६, (लेकसाइड, ड्यामसाइड, गैराको चौतारा)बाट ३५ जना पक्राउ परेका छन् । त्यसैगरी वडा नं. ९ र १० (पृथ्वीचोक, रङ्गशाला, बुद्धचोक, अस्पतालचोक) बाट २० जना, वडा नं. १४ र १५ (एयरपोर्ट, फूलबारी, रामबजार)बाट १५ जना तथा वडा नं. २९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी)बाट १२ जना नियन्त्रणमा लिइएको कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
अन्य विभिन्न वडा तथा स्थानहरू(कसेरी, महेन्द्रपुल, लभ्लीडाँडा, बगालेटोल, तुलसीघाट, लामाचौर, चिसापानी, दिपाङताल, राजाचौतारा लगायतबाट व्यक्तिहरू पक्राउ परेका छन् । साथै, माछापुच्छ्रे गाउँपालिकाबाट तीन जना र अन्नपूर्ण गाउँपालिका–१ नौ डाँडाबाट १ जनालाई नियन्त्रणमा लिइएको छ ।
