दार्जीलिङ माटोको माया सेवा संस्थानले ओमानमा अलपत्र परेका खरसाङको उजुर बस्ती निवासी वाङ्चु लामालाई 12 घण्टाभित्र सकुशल उद्धार गरी घर फर्काउन सफल भएको छ। संस्थानको केन्द्रीय समितिका प्रमुख संयोजक मनिन्द्र सुब्बाले यसबारे जानकारी दिएका हुन्। तिनले संस्थानका संस्थापक तथा सभापति दिवस दियालीको अथक प्रयास र सहयोगमा उद्धार कार्य सम्भव भएको बताए। वाङ्चु लामालाई लिन मिरिक शाखाका प्रमुख सल्लाहकार उदय गिरी र सदस्य विशाल राई बाघडुग्रा हवाईअड्डा पुगेर खदा लगाई स्वागत गरे।
लिम्बूले भने, कर्म नै हाम्रो धर्म भन्ने मूल मन्त्रलाई आत्मसात गरेर दार्जीलिङ माटोको माया सेवा संस्थानले स्थापनाकालदेखि नै साहित्य, कला, स्वास्थ्य, मानव अधिकार, उद्धार कार्य र गरीबहरूलाई सहयोग पुऱ्याउँदै आइरहेको छ। हाल संस्थापक दिवस दियाली इजरायलमा रहे पनि आफ्नो जन्मभूमि दार्जीलिङको माटोलाई भुलेका छैनन्। कर्मथलो विदेश भए पनि आफ्नो माटोप्रति अगाध प्रेमले नै तिनले यो संस्था स्थापित गरेका हुन्। तिनको सकारात्मक सोच र दृढ़ संकल्पका कारण विदेशमा अलपत्र परेका कैयन् गोर्खाली दिदी-बहिनी तथा दाजु-भाइलाई सकुशल दार्जीलिङ फर्काइएको छ। वाङ्चु लामाले ओमनमा आफूले भोगेका समस्याहरू सुनाए। तिनलाई बिहान 8 बजीदेखि राति 12 बजीसम्म काममा लगाइन्थ्यो र काम गर्दा पनि धेरै कठिनाइहरूको सामना गर्नुपर्थ्यो। तिनको पासपोर्ट पनि खोसेर राखिएको थियो।
अचानक मालिकले कामबाट निकालेपछि डेढ़ लाख रुपियाँ तिरेर मात्र घर जान पाइने बताएको तिनले गुनासो पोखे। आफ्ना बाबा-आमालाई राम्ररी पाल्ने सपना बोकेर ओमन पुगेका वाङ्चु लामाले केही महीनापछि एजेन्सीबाट उचित व्यवहार, परामर्श र सहयोग नपाएपछि ओमनमा बिजोग बन्न पुगेको बताए। तिनले ग्राम सेवा समिति, उजुर बस्ती, खरसाङमार्फत दार्जीलिङ माटोको माया सेवा संस्थानलाई उद्धारका लागि विन्ती गरेका थिए। त्यसैले तिनलाई उद्धार पनि गरिएको हो। वाङ्चु लामाका बाबाले आफ्नो छोरालाई ओमनबाट सकुशल उद्धार गरी घर फर्काउने कार्य गरेकोमा दार्जीलिङ माटोको माया सेवा संस्थालाई धन्यवाद दिए। आजभोलि यस्तो सेवा भावमा कसैले पनि खासै चासो नदेखाउने बताउँदै तिनले आफ्ना छोराको बिपत्तिमा संस्थाले सकुशल घर ल्याइदिएकोमा आभार व्यक्त गरे।