अमेरिकाको सहायक विदेशमन्त्री एस पाउल कपुर नेपाल आइपुगेका छन्। बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो। उनले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम छ । यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायतसँगको उच्चस्तरीय भेटघाट टुङ्गो लागेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्। राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए। उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय र आमा भने अमेरिकी मूलकी हुन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार कपूर नयाँ सरकारलाई बधाई दिन र काठमाडौँको प्राथमिकता बुझ्न आएका हुन् । साथै, वाशिङ्टनले नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश पनि उनीमार्फत दिइनेछ । कपूरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि साथमा छन् ।
