ट्राभल भ्लगिङ युट्युबर ज्योति मल्होत्राको पक्राउले देशमा होहल्ला मच्चाएको छ। हरियाणाकी उक्त युवतीले पाकिस्तानमा के कस्ता जानकारीहरू चुहाइन्, तिनी देशको कुन कुन स्थान गइन्, सबै विषयको रौचिरा जाँच भइरहेको छ। यस्तो स्थितिमा अब ट्राभल भ्लगरहरूका लागि सुकना आर्मी छाउनीभित्र अवस्थित उमङ्ग एडभेञ्चर पार्क र मधुवन पार्क मुख्य गन्तव्य बनिरहेका छन्। मानिसहरू गेटमा आफ्नो परिचयपत्र देखाएर पार्कमा प्रवेश गर्छन् र आफ्नो मोबाइल रोकटोकबिना फोनद्वारा भ्लगिङ गर्न थाल्छन्। पार्कभित्र रहेका विभिन्न खेलौनाहरूसितै सैनिकहरूलाई कहाँ तालिम दिइन्छ र कहाँ बस्छन् भन्ने लगायत सबै जानकारी भिडियोमार्फत प्रस्तुत गरिन्छ।
ट्राभल भ्लगिङको आड़मा ज्योतिले कसरी दुर्भावनापूर्ण उद्देश्यमा जासूसी गरिन् भनेर देखेर सेनाका उच्च पदस्थ अधिकारीहरू पनि छक्क परिरहेका छन्। फलस्वरूप सुकना आर्मी क्याम्प जस्ता संवेदनशील क्षेत्रमा यति स्वतन्त्र रूपमा घुम्ने भ्लगरहरूको कारण सुरक्षामाथि प्रश्न उठेको छ। सुकना आर्मी क्याम्पभित्र अवस्थित उमङ्ग पार्क बिदामा परिवारसित समय बिताउने एउटा गन्तव्यको रूपमा लोकप्रिय छ। धेरै मानिसहरू यहाँ कार्टिङ गर्न आउँछन्। यस ठाउँको लोकप्रियता देखेर भ्रमण गर्ने युट्युबरहरूले त्यहाँको भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन्। यसले वर्तमान सन्दर्भमा सुरक्षामाथि प्रश्न उठाउँछ। मधुवन पार्क उमङ्ग पार्कदेखि लगभग 500 मिटर टाढ़ा अवस्थित छ। त्यसको हेरचाह गर्ने जिम्मेवारी पनि सेनाको हो। यसरी स्वतन्त्र रूपमा भ्लगिङ गर्नु कति सुरक्षित छ भनेर सोध्दा सेनाका जनसम्पर्क अधिकारी (कोलकाता) हिमांशु तिवारीले भने, सेनाबाट अनुमतिबिना पार्कभित्र भ्लगिङ गर्न निषेध गरिएको छ। त्यहाँ कसैले पनि स्वतन्त्र रूपमा भिडियो वा फोटो खिच्न नपावोस् भनेर हामी सुनिश्चित गर्नेछौँ।
सुकनाको यस सैनिक शिविरभित्र त्रिशक्ति मुख्यालय छ जुन सैनिकहरूका लागि प्रशिक्षण केन्द्र हो। फलस्वरूप यस संवेदनशील क्षेत्रबाट यस प्रकारका भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गर्नाले सेनाको सुरक्षामाथि जोखिम आउन सक्ने जनसम्पर्क निर्देशनालय (रक्षा) का निर्देशक मनोज रुर्किवालले स्वीकार गरेका छन्। तिनले भने, सेना क्याम्पभित्र यस प्रकारका तस्बिर र भिडियो खिँच्ने काम तुरुन्तै बन्द गर्नुपर्छ किनभने यसले विशिष्ट स्थानहरू पहिचान गर्न सम्भव बनाउँछ। पूर्व सैन्य कर्मचारीहरूले पनि सेनाको गोपनीयता कायम राख्न सैनिक शिविर क्षेत्रमा भ्लगिङ तुरुन्तै बन्द गर्नुपर्ने बताइरहेका छन्।
