तीन इको क्याम्प 1 दिसम्बरदेखि सञ्चालनमा आउने

पर्यटन मौसममा वन विभागले पर्यटकहरूका लागि सुखद समाचार ल्याएको छ। आगामी 1 दिसम्बरदेखि जलपाइगढ़ीको धूपझोड़ामा वन विभागका तीनवटा क्याम्पहरू सञ्चालनमा ल्याइनेछ। एलिफ्याण्ट क्याम्प, कालीपुर र मौचुकी इको क्याम्प सञ्चालनमा ल्याइने भएको हो। केवल खोल्ने मात्र होइन बसाइको खर्च पनि यसपल्ट पहिलेको तुलनामा घटाइएको छ। उल्लेखनीय छ, जलपाइगढ़ीको गोरुमारा वन्यजन्तु विभागका यी क्याम्पहरू कोभिडको समय बन्द भएका थिए। केही मरम्मतीपछि बिहीवार तिनीहरूको ट्रायल रन गरियो। परम्परागत विद्युत आपूर्ति हटाएर अबदेखि यी क्याम्पहरूलाई पूर्ण रूपले सौर्य ऊर्जामा सञ्चालन गरिनेछ। क्याम्पहरूमा बसाइको खर्च 40 प्रतिशत घटाइने विभागका डीएफओ द्विजप्रतीम सेनले जानकारी दिएका छन्।

धूपझोड़ा एलिफ्याण्ट क्याम्पस्थित रूखको घरमा अझै मरम्मती आवश्यक छ। छवटा क्याम्पहरूको मरम्मती भइसकेको छ। साथै कालीपुर र मौचुकी क्याम्पमा पहिले दुईवटा कोठाको दैनिक शुल्क 2200 रुपियाँ थियो जुन अहिले घटाएर दैनिक 1200 रुपियाँ गरिएको छ। धूपझोड़ामा पर्यटकहरूलाई कुन्की हात्तीको स्नान अनुभव गर्ने अवसर प्रदान गर्न राज्य विभागसमक्ष प्रस्ताव पठाइएको छ। स्वीकृति मिले पर्यटकहरूले थोरै खर्चमा त्यो अनुभव प्राप्त गर्नेछन्। कालीपुर र मौचुकी इको क्याम्पमा दुईवटा कोठाको दैनिक शुल्क 1200 रुपियाँ गरिएको छ। यद्यपि कालीपुर इको क्याम्पमा बस्ने पर्यटकहरूले मेदला वाच टावरको गेटबाट यात्रा गर्न प्रति व्यक्तिको 200 रुपियाँ अतिरिक्त शुल्क तिर्नु पर्नेछ।

जल्दापाड़ाको हलोङ वनबङ्गलोमा आगलागी भएको घटनापछि बङ्गलो र इको क्याम्पहरूको निर्माणमा अग्नि निरोधक व्यवस्थामाथि थप ध्यान दिइएको छ। त्यसकारण तीनवटा इको क्याम्पमा सौर्य ऊर्जाको प्रयोगमाथि जोड़ दिइएको हो। कुटीहरूमा बस्ने खर्च घटाउँदा पर्यटकहरूको भीड़ बढ्ने वन विभागले अपेक्षा राखेको छ। डीएफओ द्विजप्रतीम सेनले भने, पर्यटकहरूलाई सुरक्षा र सुविधा प्रदान गर्न सोलार लाइटको व्यवस्था गरिएको हो। छिट्टै क्याम्पहरूमा सोलार प्यानल जड़ान गरिनेछ। इको पर्यटन सेवा आरम्भ गर्ने र पर्यटकहरूलाई पर्यावरणमैत्री बनाउने उद्देश्यमा यस्तो पहल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *