30 मई चिया लिलामीको मिति तय हुने

लामो वहस र केही प्राविधिक समस्याहरू पार गरेर अन्ततः जलपाइगढ़ी चिया लिलामी केन्द्रमा अनलाइन लिलामी आरम्भ हुन गइरहेको छ। तर अनलाइन चिया लिलामी प्रक्रिया आरम्भ गर्ने मिति र सेल नम्बर तय गर्न नर्थ बेङ्गल टी अक्सन कमिटीले आगामी 30 मईको दिन आपतकालीन बैठक बोलाएको छ। यो बैठक सिलगढ़ीको बर्धमान रोडस्थित एसटीटीए भवनको सभा हलमा हुनेछ।
जलपाइगढ़ी टी अक्सन टास्क फोर्सका अध्यक्ष सञ्जय धानुटेले जानकारी दिएअनुसार जलपाइगढ़ी चिया लिलामी केन्द्रको प्यान कार्ड, जीएसटी नम्बर र टी बोर्डको आयोजक लाइसेन्स पहिले नै प्राप्त भइसकेको छ। यद्यपि चिया लिलामी केन्द्र खोल्ने विषयमा लामो समयदेखि अनेक अड़चनहरू आइरहेका थिए। यसअघि 12 मईदेखि जलपाइगढ़ी चिया लिलामी केन्द्रमा अनलाइन लिलामी प्रक्रिया आरम्भ गर्ने लक्ष्य राखेर मिति घोषणा गरिएको थियो। चिया बोर्डले त्यसबारे जानकारी पनि दिएको थियो। तर कम्ती समयमा तयार गोदाममा चिया राख्नुपर्ने समस्या लिलामी समितिलाई पर्ने भयो। साथै कम्ती समयमा प्यान कार्ड, जीएसटी नम्बर र टी बोर्डको लाइसेन्स प्राप्त गर्नु पनि सम्भव थिएन। त्यसैले 12 मईदेखि लिलामी आरम्भ गर्न नसकिएको सञ्जयले बताए।
तर 12 मईभन्दा अघि लिलामी समितिले गत 31 मार्चदेखि नै जलपाइगढ़ी चिया लिलामी केन्द्र आरम्भ गर्नका लागि सम्पूर्ण तयारी गरिसकेको थियो। 10 मार्चको दिन चिया लिलामी केन्द्रमा चियाको पूर्व अभ्यास समेत सफलतापूर्वक गरिएको थियो। 31 मार्च लिलामी आरम्भ गर्नअघि लिलामीपछि 28 दिनभित्र चिया उठाउन सकिने समितिले घोषणा गरेको थियो। यद्यपि 7 दिनभित्र नगदमा चिया खरीद गर्दा 2 प्रतिशत छुट र 14 दिनभित्र नगदमा खरीद गर्दा 1 प्रतिशत छुट पनि दिइने बताइएको थियो। यी निर्णयहरूमा खरीदकर्ता तथा विक्रेताहरूको समर्थन प्राप्त थियो। तर चिया बोर्डले 28 दिनको साटो 13 दिनभित्र लिलामी गरिएको चिया उठाउने निर्देश दियो। छुट सम्बन्धी विषयमा पनि नयाँ निर्देशिका ल्याइयो। चिया बोर्डको निर्णयलाई स्वीकार्दै लिलामी समितिले पुनः लिलामी प्रक्रिया आरम्भ गर्न बोर्डलाई अप्रेलमै पत्र लेखी जानकारी दिएको थियो। तर चिया बोर्डका सहायक निर्देशक समरेश मण्डलले 12 मईदेखि लिलामी आरम्भ गर्ने बताएका थिए। प्यान नम्बर र जीएसटी नम्बर नहुँदा त्यो प्रक्रिया रोकिएको थियो। अहिले सबै अड़चनहरू हटेपछि अब लिलामी आरम्भ गर्न सकिने दिशामा सबै पक्ष आशावादी छन्। जलपाइगढ़ी चिया लिलामी समितिका उपाध्यक्ष पुरोजित बक्सी गुप्तले भने, केही समस्याको समाधान भइसकेको छ। चाँड़ै नै लिलामी आरम्भ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *