सिलगढ़ीमा अनौठो तरिकाले चोरी

सिलगढ़ी शहरको सुकान्तपल्ली क्षेत्रमा नशालु स्प्रे प्रयोग गरेर भएको दुस्साहसिक चोरीले स्थानीय मानिसहरू स्तब्ध बनेका छन्। प्राप्त जानकारीअनुसार सिलगढ़ीको न्यू जलपाइगढ़ी थानाअन्तर्गत सुकान्तपल्ली वासिन्दा सुनिल कुमार सिंहको घरमा रातिको समयमा चोरी भएको हो। चोरहरूले पहिले परिवारका सदस्यहरूलाई नशालु पदार्थ प्रयोग गरेर बेहोश बनाई घरभित्र पसी लाखौँ रुपियाँ नगदसितै सुनका गरगहना चोरी गरेर सुइँकुच्चा ठोकेका आरोप छ।
घटनापछि बिहान जब परिवारका सदस्यहरू जागे तब मात्र तिनीहरूलाई घरमा चोरी भएको घटनाबारे थाहा भयो। घरका सामानहरू अस्तव्यस्त अवस्थामा थिए। तत्कालै न्यू जलपाइगढ़ी थानालाई घटनाबारे जानकारी दिइयो। पुलिस घटनास्थलमा आइपुगेर प्रारम्भिक जाँचमा जुटेको छ। घटनाबारे बोल्दै सुनिल कुमारले भने, घटनाको राति हामी सामान्य दिनमा जस्तै सुतेका थियौँ। तर बिहान उठ्दा घरको लकर्स फोरिएको देख्यौँ साथै सबै सुनका गहनासहित नगद राशि चोरी भएको थाहा पायौँ। तिनले थप भने, नशालु पदार्थ प्रयोग गरेर हामीलाई बेहोश पारेर चोरी गरिएको हो।
पुलिस सूत्रअनुसार चोरी योजनाबद्ध तरिकाले गरिएको देखिन्छ। अपराधीहरू एकार्काका परिचित हुन सक्ने सम्भावना रहेको प्रारम्भिक जाँचमा आशङ्का गरिएको छ। पुलिसले घटनाको विस्तृत छानबिन आरम्भ गरिसकेको छ अनि इलाकामा जड़ान गरिएका सीसीटीभी फूटेजहरूको जाँच गरिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *