एजेन्सी: रास्वपा नेता गणेश कार्कीले १० जना जेनजी अगुवाहरूको नाम राष्ट्रपति कार्यालयलाई दिएका छन् । राष्ट्रपति कार्यालयले वार्ताका लागि आह्वान गरेपछि कार्कीले मध्यस्थता गर्न खोजेका हुन् ।
अहिले जेनजीका अनेकन् समूहहरू भएको र सरकारविहिनताको स्थिति रहेकाले कसले कोसित वार्ता गर्ने भन्ने अन्योल छ । जेनजीहरुले कुनै वार्ता कमिटी पनि बनाउन सकेका छैनन् । को अघि सर्ने भन्नेमै अस्पष्टता देखिएको छ । यस्तोमा केही जेनजीहरुले रास्वपा नेता कार्कीलाई राष्ट्रपति कार्यालयमा नाम पुर्याइदिन आग्रह गरेका थिए ।
जेनजी समूहहरूबाट अनुरोध भए अनुसार आफूले करिब एक दर्जन प्रतिनिधिको नाम पठाएको कार्कीले नेपाल प्रेसलाई जानकारी दिए । तर, राष्ट्रपति कार्यालयले वार्ता गर्छ गर्दैन र गरे पनि क–कसलाई राख्छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।
कार्कीले भने, ‘जेन जीका साथीहरूले पनि मलाई कोअर्डिनेसन गरिदिनुस् भनेर अनुरोध गर्नुभयो । त्यही भएर मैले राष्ट्रपति कार्यालयमा सम्पर्क गरेको हुँ । अब मैले पठाइदिएकै प्रतिनिधिहरू सर्वस्वीकार्य नहुन सक्छन् । साथै, राष्ट्रपति कार्यालयले यसलाई मान्यता दिन्छ वा दिँदैन भन्ने मलाई थाहा छैन ।’
बुझिए अनुसार अहिलेसम्म युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर, नविन राई, उपार्जन चाम्लिङलगायत दर्जन प्रतिनिधिको नाम उनले पठाएका छन् । यस्तै, अनुषा खनाल, निरज गौतम ‘गोतामे’, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम पनि छ । यो सूचिमा सुरुवातदेखि लागेका अभिजित अधिकारी, तनुजा पाण्डे लगायतको नाम भने छैन ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
