काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले विगतका सहमति र सम्झौताप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जेन–जी पुस्तासँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।
सरकारले जेन जी आन्दोलनका मृतक र घाइतेका परिवारसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न र जेलमा रहेका जेन–जी योद्धाहरूलाई रिहा गर्न पनि उनले माग गरे।
सांसद यादवले सरकारलाई चेतावनी दिँदै भने, ‘बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई म चेतावनी दिन चाहन्छु– हाम्रो साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्।’
‘भदौ २३ गतेको घटनाले हामीलाई एउटा कुरा सिकाएको छ– सत्ता स्थायी हुँदैन। जनताको आवाज र इतिहास सधैँ जीवित रहन्छ’, उनले भने ।
उनले जनताको भावनालाई उपेक्षा गरेर गरिने दम्भको परिणाम सत्ताका लागि महँगो पर्ने सङ्केत गर्दै तत्काल माग पूरा गर्न सरकारलाई आग्रह गरे ।
