भक्तपुर अस्पतालमा रोबोटिक शल्यक्रिया सुरु हुने

भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ ।
भारतलगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो ।
विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो । निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताए । उनले भने, ‘अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को बागमती प्रदेश सरकारले गरेको छ, त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यसबाट बिरामीलाई सहज र सुलभ रुपमा उपचार सेवा दिन सक्छौँ ।’
बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रविधि भित्र्याएर सर्वसुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकारले रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो ।
स्वास्थ्य थापाले विशेषज्ञ चिकित्सकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोट प्रविधिमार्फत शल्यक्रिया गर्ने भएकाले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको बताए । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा रन्जिसकुमार पहाडी क्षेत्रीले जानकारी दिए ।
नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकारी अस्पतालमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएको अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ ।
उनले भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासँगै यसको तालिम केन्द्रका रुपमा विकास गरिने बताए । भक्तपुर अस्तालले त्यो सेवा सुरु गर्न आवश्यक जनशक्तिका समेत सञ्चालन गर्ने जनाएको छ । डा पहारीले रोबोटिक शल्यक्रियाको सुरुआतले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ केन्द्रको रुपमा रहन पुगेको दाबी गरे ।
सरकारी अस्पतालमा भित्रिएको यस प्रविधिबाट गरिब तथा विपन्न वर्गका बिरामीले समेत संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सुलभ उपचार पाउने अस्पतालका निमित्त निर्देशक डा त्रिभुवनचन्द्र झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *