कर्मचारी अभावको समस्या समाधानका लागि पटक-पटक आश्वासन दिइएको थियो। यातायात विभागसित छलफलको आधारमा समस्या समाधान भइरहेको छ, प्रत्येकपल्ट आश्वासन दिइएको थइयो। साथै उत्तर बङ्गाल राज्य यातायात निगम (एनबीएसटीसी) लाई आर्थिक रूपमा सक्षम बनाउन विभिन्न पहलहरूको कुरा पनि पटक-पटक उल्लेख गरिएको थियो। तर तीमध्ये अधिकांश प्रयास विफल भएका छन्। केही परियोजनाहरू त आरम्भ भएको केही समयमै थलिएर थाँतीमै रहेका छन्। त्यसैले एनबीएसटीसीका चेयरम्यान पार्थप्रतिम रायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। एनबीएसटीसीको वर्तमान अवस्थाबारे तिनलाई र राज्य सरकारलाई विपक्षीहरूले आलोचना गरिरहेका छन्। सिलगढ़ीका विधायक तथा विधानसभामा भाजपा प्रमुख सचेतक शङ्कर घोषले भने, वास्तवमा सरकारले उत्तर बङ्गाल राज्य यातायात निगमलाई खर्चको सूचीमा राखेको छ।
तर यस्तो परिस्थितिका लागि अध्यक्ष पार्थप्रतिम जनतालाई नै धेरै जिम्मावार ठहराइरहेका छन्। प्राथप्रतिम रायले भने, केही नयाँ पहल परीक्षण स्वरूप लिइएको थियो। तर साधारण जनताबाट खासै प्रतिक्रिया पाइएन। त्यसैले हामी ती पहल बन्द गर्न बाध्य बन्यौँ। साधारण जनताले पनि यस मामिलामा सहयोग गर्नुपर्छ। कुनै हालतमा पनि एनबीएसटीसी समयसँग अघि बढ्न सकेको छैन। तर आश्वासन दिनु अधिकारीहरू पछि हट्न चाहँदैनन्।
अध्यक्ष पार्थप्रतिमले दिएका अधिकांश आश्वासनहरू व्यवहारमा परिणत भएका छैनन्। सिलगढञी नगर निगमसित धेरैपटक छलफल गरेर लाखौँ रुपियाँ खर्च गरेर उक्त टर्मिनल गरिएको थियो। तर 6 महीनाभित्रै अहिले त्यहाँ ताला लागेको छ। त्यसै गरी केही वर्षअघि ढोल बजाएर आरम्भ गरिएको एनजेपी स्टेशनबाट स्थानीय रूटमा बस सेवा पनि अहिले थाँतीमै छ। रायले भने, एनजेपीबाट स्थानीय रूटका बसमा यात्री नै हुँदैन थियो। कति दिनसम्म तेलको खर्चमा बस चलाउने? मल्लागढ़ीको हिमुल क्याटल फिल्डलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय बस टर्मिनलको योजना पनि लामो समयदेखि बनाइँदै आएको हो। यस्ता योजनाहरू धेरैपटक सार्वजनिक गरिए पनि अझै कार्यान्वयन हुन सकेका छैनन्। सिलगढ़ी-राँची बस सेवा पुनः आरम्भ गर्ने योजना बनाइए पनि ती बसहरू अझ गुड्न सकेका छैनन्। त्यस्तै कुरा सिलगढ़ी-ढाका बस सेवा पनि सञ्चालन भएन।