उत्तर बङ्गाल मेडिकल कलेजमा दिसम्बरमै अङ्कोलोजी युनिटको वाह्यरोगी सेवा (आउटडोर) आरम्भ हुने भएको छ। आगामी महीनादेखि रेडियोलोजी युनिट पनि सञ्चालनमा आउनेछ। पश्चिम बङ्गाल सरकारको 100 करोड़ राशिको बजेटबाट उत्तर बङ्गाल मेडिकल कलेज परिसरमा नयाँ अङ्कोलोजी युनिट निर्माण भइरहेको छ। बुधवार उत्तर बङ्गाल मेडिकल कलेजको रोगी कल्याण समितिको बैठकपछि यसबारे जानकारी दिँदै समितिका अध्यक्ष तथा सिलगढ़ी नगरनिगमका मेयर गौतम देवले जानकारी दिएका हुन्। हाल मेडिकल कलेजमा एउटा छुट्टै अङ्कोलोजी युनिट त छ तर जीर्ण अवस्थामा पुगिसकेको छ। कुनै प्रकारले आउटडोर सेवा चले पनि प्रभावकारी उपचार सेवा उपलब्ध छैन। क्यान्सरका रोगीहरूले केमोथेरापीका लागि महीनौँसम्म दौड़धुप गर्नुपर्ने अवस्था छ। यसबाट सिलगढ़ीका केही निजी नर्सिङ होमहरूले फाइदा उठाएका छन्। मेडिकल कलेज नजिकैको एक निजी नर्सिङ होममा केही रोगीहरूलाई रेफर गर्नुपर्छ।
राज्य सरकारको स्वास्थ्य साथी कार्ड बोकेर रोगीहरू उपचार गराउन गए पनि निजी नर्सिङ होमहरूले अत्यधिक शुल्क लिने भएकाले रोगीका परिवारहरूलाई घरका सम्पत्ति बेच्नुपर्ने अवस्था आउँछ। दिसम्बरमा नयाँ भवनमा अङ्कोलोजीको आउटडोर सेवा आरम्भ भएपछि अवस्थामा केही सुधार आउने अस्पताल प्रशासनको अपेक्षा छ। इनडोर सेवासहित सम्पूर्ण उपचार व्यवस्था आरम्भ भएपछि रोगीहरूको निजी नर्सिङ होमप्रति निर्भरता घट्नेछ। गौतम देवले भने, हामी दिसम्बरमा नयाँ अङ्कोलोजी युनिटको आउटडोर सेवा आरम्भ गर्न सक्ने आशामा छौँ। जून महीनाभित्र रेडियोलोजी युनिट पनि सञ्चालनमा आउनेछ। उत्तर बङ्गाल मेडिकल कलेजको अङ्कोलोजी विभागको कमजोर अवस्थाका कारण अधिकांश रोगीहरू दक्षिण भारतसम्म उपचार गराउन जानुपर्ने बाध्यता छ। उत्तर बङ्गालका विभिन्न जिल्लाबाट आर्थिक रूपमा कमजोर रोगीहरू यहाँ आउँछन्। तर पूर्वाधारको अभावका कारण उपचार गराउन आए पनि फर्कनुपर्ने अवस्था आउँछ। गाउँबाट बस चढ़ेर कलेजमा आउन, उपचार गर्न र फर्किनकै लागि सयौँ रुपियाँ खर्च हुन्छ।
त्यसपछि उपचार नपाई फर्किनु पर्दा झनै अप्ठ्यारो अवस्था हुन्छ। त्यसैले राज्य सरकार उत्तर बङ्गाल मेडिकल कलेजको अङ्कोलोजी युनिटलाई सुधार गर्ने पहलमा लागेको हो। अङ्कोलोजी युनिटको छेउमै एउटा छुट्टै युनिट निर्माणको काम आरम्भ गरिएको हो र त्यो काम अहिले अन्तिम चरणमा पुगेको छ। साथै लगभग एक दशकदेखि बन्द रहेको रेडियोलोजी युनिट पुनः सञ्चालन गर्न पनि मेडिकल कलेज प्रशासनले पहल थालेको छ। जून महीनामै रोगी कल्याण समितिले रेडियोलोजी युनिट सञ्चालनको प्रगति पुनरावलोकन गर्नेछ। त्यसपछि युनिट सञ्चालनमा ल्याइनेछ। रोगी कल्याण समितिका अध्यक्ष गौतम देवले भने, राज्य सरकारका अस्पतालहरूमा निःशुल्क उपचार सेवा दिइन्छ। मुख्यमन्त्रीको पहलमा उत्तर बङ्गाल मेडिकल कलेजको अङ्कोलोजी युनिट पुनः सञ्चालनतर्फ ठूलो प्रगति भएको छ। यो क्रमशः सञ्चालन हुनेछ र रोगीहरूले गुणस्तरीय उपचार पाउने आशा गरिएको छ।