खुल्ला सीमामा काँड़े तारको बार मामिलामा अहिले भारत अनि छिमेकी राष्ट्र बङ्गलादेशबीच तनाउ केही बढ़ेको छ। भारत अनि बङ्गलादेशको सीमामा धेरै ठाउँ खुल्लै रहेको हुँदा विभिन्न अवैध कारोबार अनि आपराधिक गतिविधि भइरहेको सर्वविदितै छ। बङ्गलादेशमा उत्पन्न राजनैतिक अस्थिरतापछि भारतले खुल्ला सीमामा काँड़े तारको बार लगाउने कार्यलाई तीव्र पारेको छ। तर यो कार्य गर्दा विभिन्न ठाउँमा बोर्डर गार्ड बङ्गलादेश अनि बङ्गलादेशी नागरिकहरूबाट विरोध भइरहेको छ।
यस्तो स्थितिमा दार्जीलिङका सांसद राजु विष्टले उत्तर दिनाजपुर जिल्लाको चोपड़ा ब्लकस्थित भारत-बङ्गलादेश सीमास्थित चौकी (132 बटालियन, बीओपी कार्जीगाछ) को भ्रमण गरेका छन्। तिनले सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूसित ऐक्यबद्धता प्रकट गरेका छन्। यो भ्रमण बङ्गलादेशमा भइरहेको राजनैतिक अशान्ति र सीमामा जारी तनाउको बीचमा गरिएको हो। विष्टले कठिन परिस्थितिमा राष्ट्रको सुरक्षा गर्न समर्पित बीएसएफका जवानहरूको प्रशंसा गर्दै तिनीहरूलाई रक्षाको पहिलो पङ्क्ति भनेर सम्बोधन गरे अनि तिनीहरूको पेशागत क्षमताको सराहना पनि गरे।
तिनले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी र तिनका तृणमूल कङ्रेम स (टीएमसी) नेताहरूले गैरकानूनी अनुप्रवेशकारीहरूलाई समर्थन गरेका आरोप पनि लगाए। विष्टले यस्तो गतिविधिमा राज्य संयन्त्रको दुरुपयोगमाथि प्रश्न उठाए। मालदाको सुकदेवपुरका वासिन्दाहरूबाट प्राप्त पछिल्लो समर्थनको उदाहरण दिँदै तिनले भने, टीएमसीले राजनैतिक उद्देश्यका लागि बीएसएफको विरोध गर्न सक्छ। तर पश्चिम बङ्गालका जनताले हाम्रा बीएसएफ जवानहरूलाई दृढ़तापूर्वक समर्थन गर्छन्। विष्टले सुरक्षाकर्मीहरूको प्रतिबद्धताको महत्त्वलाई पुनः पुष्टि गर्दै राष्ट्रको सुरक्षाका लागि तिनीहरूको प्रयासलाई निरन्तर समर्थन गर्ने वाचा गरेका छन्।