नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन र सीमापार अपराध नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूबिच जोगबनीस्थित सीमा नियन्त्रण चौकी (बीसीप)ं मा समन्वय बैठक बसेको छ ।
५६औं वाहिनी सशस्त्र सीमा बल बथनाहाको कार्यक्षेत्रअन्तर्गत एफ समवाय जोगबनीको बीसीपी गेटमा आयोजित उक्त बैठक ५६औं वाहिनीका द्वितीय कमान अधिकारी नितिन कुमार गुप्ताको अध्यक्षतामा बसेको थियो ।
बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी बल मोरङका प्रमुख ९एसपी० गेहेन्द्र कुमार भण्डारीले गरेका थिए । नेपाली टोलीमा सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० सूर्यप्रकाश शर्मा, निरीक्षकद्वय गणेश मल र धीरज मलसहितका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो । त्यस्तै भारतीय पक्षबाट अध्यक्ष गुप्तासहित द्वितीय कमान अधिकारी प्रवीण कुमार, एफ समवाय प्रभारी निरीक्षक हरेन्द्र सिंहलगायत अधिकारीहरू उपस्थित थिए ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकमा सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम राख्न दुवै देशका सुरक्षाकर्मीहरूबीच संयुक्त साझा गस्तीलाई प्रभावकारी बनाउने सहमति भएको छ । सीमा सुरक्षालाई थप मजबुत बनाउन सीमापार अपराध नियन्त्रण, आपराधिक प्रवृत्तिका असामाजिक तत्वहरूको गतिविधिमा रोक तथा सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि तत्काल गुप्तचर तथा महत्त्वपूर्ण सूचनाहरू आदानप्रदान गर्ने निर्णय गरिएको छ।
यसैगरी बैठकमा सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि कडा सतर्कता अपनाउने र दुवै देशको दशगजा क्षेत्रमा कुनै पनि प्रकारको अतिक्रमण हुन नदिने विषयमा गहन छलफल भएको थियो ।
भारतीय तथा नेपाली मुद्राको अवैध ओसारपसार र ढुवानीलाई पूर्ण रूपमा नियन्त्रण गर्न दुवै पक्षका सुरक्षाकर्मीहरूले कडा निगरानी राख्ने सहमति जनाएका छन्। दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
