पहिरोमा ८ जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा परेर म्याग्दी र बागलुङमा ८ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४ बागलुङको निसीखोला गाउँपालिका ४ गरि ८ जनाको मृत्यु भएको हो।
अन्नपूर्ण गाउँपालिका–३ दानामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर ५ मा पनि २ जनाको ज्यान गएको छ। पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली तत्काल पुग्न समस्या भएको छ।
निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनास्थलबाट केहीबेरअघि ३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
उता, पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोमा परी तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *