प्री-मनसूनको वर्षाले यसपल्ट उत्तर बङ्गाललाई पर्याप्त राहत दिएको थियो। तर त्यति हुँदाहुँदै पनि डुवर्सका चियाबारीहरूमा सेकेण्ड फ्लशको उत्साह हराएको छ। यसको मुख्य कारण हो लुपर नामक कीराको आक्रमण। अलिपुरद्वार र जलपाइगढ़ी जिल्लामा यसपल्ट यो कीरा अनियन्त्रित भएर फैलिएको छ। तराई क्षेत्र पनि यसको प्रभावबाट अछुतो छैन। चियाबारीका हेक्टरका हेक्टर क्षेत्रमा कोमल पातहरू पूर्ण रूपले नष्ट भएका छन्। लुपर नियन्त्रण गर्न प्लाण्ट प्रोटेक्शन कोडअनुसार टी बोर्डले स्वीकृत गरेको केवल दुईवटा रासायनिकहरू मात्र उपलब्ध छन्। तर चियाबारी सञ्चालकहरूले अहिले यी रासायनिकहरूको कुनै प्रभाव नपरिरहेको बताएका छन्।
चिया रिसर्च एसोसिएशन (टीआरए) को तराई शाखाकी सल्लाहकार अधिकारी डा. तृणा मण्डलले भनिन्, यस क्षेत्रका केही चियाबारीहरूमा यी दुई रसायनमध्ये एउटा थोरै प्रभावकारी देखिएको छ। तर कतिपय चियाबारीहरूमा दुवै नै प्रभावहीन बनेका छन्। त्यसैले समस्या समाधान भएको छैन। रासायनिक उपायहरूले काम नगरेको कुरा इण्डियन टी प्लाण्टर्स एसोसिएशन (आईटीपीए)का डुवर्स शाखा सचिव राम अवतार शर्माले पनि स्वीकारेका छन्। टीआरएका सचिव जयदीप फुकनले भने, लुपर नियन्त्रणका लागि आपतकालीन रूपमा सोलोमन नामक नयाँ रसायन प्रयोग गर्न दिने अनुरोध गर्दै टी बोर्डलाई चिट्ठी पठाइएको छ। स्थिति यस्तो बनेको छ कि ताजा पात सङ्कलनको साटो अहिले मजदुरहरूले कीराहरू टिप्नु परिरहेको छ। केही चियाबारीहरूमा प्रत्येक सेक्शनबाट दैनिक औसत 60 किलोग्राम लुपर सङ्कलन भइरहेको छ। टीआरए उत्तर बङ्गाल क्षेत्रीय अनुसन्धान तथा विकास केन्द्रका प्रमुख सल्लाहकार डा. श्याम वर्गिजले भने, स्थिति राम्रो छैन। लुपरको प्रकोप यसपालि अत्यन्त गम्भीर बेनको छ।
नगराट्टाको गठिया चियाबारीका प्रबन्धक नवीन मिश्रले भने, हाम्रो 150 हेक्टर खेतीयोग्य क्षेत्रमा लुपरको महामारी फैलिएको छ। यो समय जहाँ प्रत्येक दिन 25 हजार किलोग्राम काँचो पात टिपिन्थ्यो अहिले त्यो घटेर 10 हजारमा झरेको छ। कुर्ती चियाबारीका प्रबन्धक राजेश रूङ्गटा पनि लुपरले सताइरहेका बताएका छन्। अब हेलोपेल्टिस नामक अर्को कीराको आक्रमणको सम्भावना बढ़ेको छ। बानरहाटको कारबाला चियाबारीका प्रबन्धक हिमाद्री बन्दोपाध्यायले भने, रसायन प्रयोग गरेर काम नभएपछि अहिले हातैले लुपर टिपिँदैछ। त्यस्तै समस्या मालबजारको रानीचिरा, ओदलाबाड़ीको लिस रिभर, वासाबारी, मदारीहाट-बीरपाड़ा ब्लकका दलगाउँ, डिमडिमा, हण्टापाड़ा, कालचिनीको सुभाषिणी, साताली, बीच, भर्नोबारी, कुमारग्रामको रायडाक, कार्तिका, धवलाझोड़ा लगायतका धेरै चियाबारीहरूमा पनि देखिएको छ। डुवर्स ब्राञ्च इण्डियन टी एसोसिएशन (डीबीआईटीए) का अध्यक्ष राजकुमार मण्डल भने, वर्षाले राहत ल्याउने अपेक्षा गरिएको थियो। तर लुपरले सबै भताभुङ्गै पारिदियो। गोपालपुर चियाबारीका प्रबन्धक प्रणव मिश्रले भने, नगराकट्टा, बानरहाट, बीरपाड़ा र हासीमारा क्षेत्रमा लुपरको समस्या यसपालि भयावह छ। चियाबारीहरू कसरी सञ्चालन गर्ने भन्ने नै अहिले ठूलो प्रश्न बनेको छ।
