काठमाडैँमा नेपाल र भारतका सर्जकको साहित्यिक र सांगीतिक कार्यक्रम

विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कोलकाता, भारत-नेपाल इन्डिया कल्चर हार्मोनिको आयोजनामा काठमाडौँमा एक दिवशीय साहित्यिक र सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम भएको छ। कार्यक्रममा विश्व बंग साहित्य तथा संस्कृति सम्मेलनका सोह्र जना तथा सिक्किमबाट आएका साहित्यकारहरू सहभागी थिए । जरा फाउन्डेसन नेपाल, साहित्यिक पत्रकार संघ (सापस) र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा नेपाल-भारत सांस्कृतिक सदभावको एकदिवसीय साहित्यिक तथा सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम भएको हो। कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाइले बंगाली भाषामै सम्बोधन गर्दै नेपाल भारत बीचको सुमधुर सम्बन्धबारे प्रकाश पार्दै डा. राधाकान्त सरकारको प्रशंसा गरेका थिए।

आफ्नो मन्तव्य राख्दै डा. सरकारले देश, भाषा, भेष फरक परे पनि हामी सबैको उद्देश्य, भावना एउटै भएको बताए। मन्तव्यका क्रममा उनले ‘नारी’ शीर्षकको एउटा कविता र अर्को एउटा अंग्रेजीमा लेखिएको कविता समेत वाचन गरेर सुनाएका थिए। नेपालीहरू ज्यादै सुन्दर र मिलनसार भएका र नेपाली भाषा ज्यादै मीठो छ भन्दै उनले नेपाली साहित्यकारहरूलाई कलकत्ता आउन निम्तो पनि दिए । कार्यक्रममा प्रो. रजतकिशोर डे, पूर्व सांसद रेखा यादव, परराष्ट्रविद् नारायण मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य नेपाली, अंग्रेजी, बंगाली र हिन्दी भाषामा राखिएको थियो। कलकत्ताका कवि डा. सरकारलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो भने कलाकार मेनुका लामाले आर्यतारा चर्या नृत्य प्रस्तुत गरेकी थिइन्। त्यसैगरी असमकी शिखा थापाले पनि नेपाली र असमी गीतमा सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्।

सङ्गीतकार तथा गायक प्रदीप बमजनले रवीन्द्रनाथ टेगोरद्वारा रचित ‘एकला चलो’ कवितालाई गीत बनाएर गाएका थिए।
डा. शिवानी दासले नेपाली तथा हिन्दी गीत, टुना मजुमदारबाट बंगाली गीत, नरहरि प्रेमीले नेपाली हिन्दी गीत, सन्देश पौडेलले नेपाली गीत, अनिल श्रेष्ठ र संगीता बरूवालले देउडा गीत, सुभाष बन्धुपाध्यले बंगाली गीत गाएर सुनाएका थिए। कार्यक्रममा कविहरू मणिमाला मल्लिक, शर्मिला सेन, गीतिकान्त मजुमदार, समरशंकर चट्टोपाध्य, आशिषकुमार कौर, गौरी सरकार, शिवशंकर बक्सीले आफ्नो भाषामा कविता वाचन गरेका थिए।

पूर्व सांसद रेखा यादवले पनि हिन्दीमा लेखेको आफ्नो एउटा कविता वाचन गरेर सुनाएकी थिइन् भने नेपाली कविहरूका तर्फबाट रिता खत्रीले एउटा कविता वाचन गरेकी थिइन्। कार्यक्रममा कलकत्ता र सिक्किमबाट आएका आमन्त्रित व्यक्तित्वहरू र कविता वाचन गर्ने कविहरू तथा गायक र नृत्य गर्ने कलाकारहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो भने उपस्थित सबैलाई रुद्राक्षको माला लगाइदिएर स्वागत तथा सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *