कोलकातानजिक बाघाजतिनमा एक तल्ले भवन भत्किएपछि सिलगढ़ीमा पनि त्रास फैलिएको छ। यस शहरमा पनि नियम विपरीत धेरै बहुतल्ले भवनहरू निर्माण गरिँदैछ। भवन निर्माणको नियमलाई सही रूपमा पालन नगरेको गुनासो धेरै समयदेखि आइरहेको छ। सरकारी पक्षबाट पनि लापरवाही गरिएको देखिन्छ भने प्रोमोटरहरूको पनि कमजोरी रहेको छ। यसको परिणामस्वरूप सिलगढ़ीमा कुनै पनि बेला यस्तै बहुतल्ले भवन भत्कने सम्भावना छ। धेरै अवस्थामा स्थानीय काउन्सिलर र शासक दलका नेताहरूलाई ठूलो रकम दिएर गैरकानूनी ढङ्गले बहुतल्ले भवन बनाइएको आरोप पनि उठ्छ। यसबारे मेयर गौतम देवले भने, हामी बोर्डमा आएपछि धेरै गैरकानूनी निर्माणहरूविरुद्ध कार्वाही गरेका छौँ र अहिले पनि गरिरहेका छौँ। तर हामीभन्दा अघाड़ि जो बोर्डमा थिए तिनीहरूको समयमा धेरै गैरकानूनी निर्माणहरू गरियो। ती भवनहरूमा अहिले मानिसहरू बसिरहेका छन्। हामीलाई कुनै ठोस उजुरी हुँदा सबैलाई गम्भीरतासित हेर्दै आएका छौँ। साथै भवन योजना पास गर्ने प्रक्रिया र बहुतल्ले भवन निर्माणलाई अझ कठोरतासित निगरानी गर्ने प्रयास गरिरहेका छौँ।
